मौसम प्रतिकूल भई उडान नहुँदा लुक्लाका होटल भरिभराउ



३१ भदौ २०७६, काठमाडौं

मौसम प्रतिकूल भई उडान नहुँदा लुक्लाका होटल खचाखच भरिएका छन् । भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटक उडान नहुँदा लुक्लामै बसेका छन् । विगत चार दिनदेखि मौसम प्रतिकूल बन्दा कुनै पनि उडान तथा अवतरण हुननसकेका नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिनुभयो । होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४०० भन्दा बढी पर्यटक काठमाडौँ जानका लागि विमानको पर्खाइमा छन् । खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटक लुक्लामा विमानको पखाईमा बसेका हुन् ।

हवाईसेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यान्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयवासीले बताएका छन् । खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । हवाईसेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यान्नसमेत सकिँदै जाने भएकाले मूल्य बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्