मौसम प्रतिकूलताका कारण खुम्बु पुगेका मजदूरहरु बिचल्लीमा



३१ भदौ २०७६, काठमाडौं

मौसम प्रतिकूल भई उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदूरलाई समेत समस्या भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवा पर्यटक नआएपछि त्यत्तिकै बस्न बाध्य छन् । रोजगारीको खोजी गर्दै लुक्ला पुग्नुभएका महाकुलुङका लक्ष्मण खालिङका अनुसार पर्यटकको पर्खाइमा सयौँ युवा लुक्लामा बसेका छन् ।

पर्यटकीय सिजन शुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकूलताका कारण समस्यामा परेको बताउँछन् । कोठामै बसेर खाँदा खर्चसमेत सकिसकेको अर्का मजदूर मनकुमार राईले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीका रूपमा खुम्बु क्षेत्र जाने प्रचलन छ । उनीहरु महत्वपूर्ण चाड दशैँतिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्