गोरखापत्रमा राई समुदायको २५ ओटै भाषामा सामग्री प्रकाशनको माग



२८ भदौ २०७६, काठमाडौं

किराँत राई यायोक्खाले राज्यको लगानीमा प्रकाशन हुँदै आएको गोरखापत्रको ‘नयाँ नेपाल पेज’मा राई समुदायका २५ ओटै भाषालाई समेट्न आह्वान गरेको छ।

खोरखापत्र संस्थानले प्रकाशन गर्दै आएको गोरखापत्र दैनिक पत्रिका प्रदेश/प्रदेशबाट प्रकाशन गर्न लागिएपछि यायोक्खाले राईहरुले प्रयोग गर्दै ल्याएका २५ ओटै भाषाहरुलाई समेट्न आग्रह गरेको हो।

गोरखापत्रले काठमाडौंबाट हाल २८ वटा भाषामा ‘नयाँ नेपाल पेज’ प्रकाशन गर्दै आएको छ।

जसमध्ये किराँत राई वान्तावाको एउटा पृष्ट र राई भाषा भनेर चाम्लिङ लगायत केही राई भाषामा मात्र सामाग्री प्रकाशन हुँदै आएको छ। पत्रिकाले अब भने प्रदेशमा बाहुल्यता रहेको भाषाहरुलाई प्रदेशबाटै प्रकाशनको लागि नेपाल आदिवासी जनजाति महासंघको पूर्व महासचिव परशुराम तामाङको संयोजकतत्वमा तीन सदस्यीय कार्यादल गठन गरेको छ।

किराँत राई यायोक्खाले शुक्रबार कार्यादलको संयोजक परशुराम तामाङ, सदस्य प्रा. डा. योगेन्द्र यादव, प्रा. डा. डम्बर चेम्जोङ, डा. तारामणि राई, गोरखापत्र दैनिकको प्रधान सम्पादक श्रीओम श्रेष्ठ, द राइजिङ नेपालका प्रधानसम्पादक जगदिश पोख्रेलको टोलीलाई ज्ञापनपत्र बुझाउँदै १ नम्बर प्रदेशबाट किराँत राई समुदायले प्रयोग गर्दै आएको २५ ओटै भाषालाई ‘नयाँ नेपाल पेज’मा समेट्न आग्रह गरेको हो।

यायोक्खा टोलीमा केन्द्रीय अध्यक्ष दिवस राई, महासचिव जनक राई, उपाध्यक्ष टिकासरी राई, सचिव अर्जुन जम्नेली राई तथा विभिन्न भाषिक संस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए।

ज्ञापनपत्र बुझ्दै कार्यदलको संयोजक परशुराम तामाङले प्रदेशबाट प्रकाशन हुने ‘नयाँ नेपाल पेज’मा २५ भाषालाई समेट्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्