मनकामना केबलकार पाँच दिन पछि पुनःसञ्चालनमा



२७ भदौ २०७६, काठमाडौँ

मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो ।

आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिनुभयो । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उसले निश्चित अवधिमा आफूले बनाएका केबलकारको अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएर उसकै निगरानीमा मर्मतसम्भार गरिएको कायस्थले बताउनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटार (चेरेस)मा प्रवेशद्वार (बटम स्टेशन) रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरु जाने गर्छन् ।

मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ केबलकारको स्टेशनमा भीड नै लाग्छ । दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको छ । अहिले केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । मनकामना दर्शनका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्