आलेख : किवीमा किसानको जाँगर



२५ भदौ २०७६, काठमाडौं

केही वर्ष अघिदेखि सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका तारामणि खतिवडाको बारीमा मकै र कोदो खेती घटेको छ । वर्ष दिन लगाएर खेती गर्दा पनि पराम्परागत खेती बालीले लागत आम्दानी नदिएपछि तारामणिले वाक्क भएर खेतीको विकल्प खोज्नुभएको हो ।

लेकको बारी भएकाले पराम्परागत खेती चट्ट छाड्न पनि उहाँलाई गा¥हो छ । “उहिल्यैदेखि लगाइआएको खेती बिगारेर किवी खेती गरेर के फाइदा ?” भन्ने कुरा पनि धेरै सुन्नुप¥यो उहाँले । तर, पनि मकै र आलु खेतीले वाक्क हुनुभएका तारामणिको नयाँ बाली लगाउने सोच भने परिवर्तन भएन ।

उहाँले केही वर्षयतादेखि बारीमा किवी खेती गर्नुभएको छ । शुरुका वर्षमा राम्रो आम्दानी नदिए पनि अहिले भने किवीले उल्लेखनीय आम्दानी दिइरहेको छ उहाँलाई । कम समय र कम खर्चमा राम्रो आम्दानी हुने बुझेपछि उहाँले आफ्नो बारीको धेरै क्षेत्रमा यही खेती गर्नुभएको छ । “केही वर्षसम्म धान, मकै र कोदोको मात्र उत्पादन हुन्थ्यो, त्यति आम्दानीले बचत त के खान समेत राम्ररी पुग्दैनथ्यो,” खतिवडाले भन्नुभयो – “तर, अहिले किवीका कारण खान मात्रै होइन, आम्दानी पनि भएको छ । छोराछोरी पढाउन पनि सहज भएको छ ।”

इलाममा सबैभन्दा पहिले किवीको खेती गर्ने व्यक्ति नै उहाँ हुनुहुन्छ । आज भन्दा छ वर्ष अघि मात्र तारामणिले काठमाडौँबाट बिरुवा ल्याएर किवीको खेती गर्न शुरु गर्नुभएको हो । त्यही किवी नै अहिले जिल्लाभर फैलिएको छ भने धेरैको कमाइ खाने भाँडो पनि किवी नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्