नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ : प्रधानमन्त्री



२४ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभएको छ ।

मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपाह्न समुद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुर्याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले पाइपलाइन परियोजना सञ्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने बताउनुभयो । “पाइप लाइन परियोजनाले नेपाली उपभोक्तामा सकारात्मक प्रभाव पारेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ ।”

उहाँले आयोजना सम्पन्न गर्न भारत सरकारले गरेको सहकार्य र सहायताका लागि आभार प्रकट गर्नुभयो । “परियोजना नेपाल र भारतको व्यापार तथा पारवहन पूर्वाधारको सम्बन्धमा ‘कनेक्टिभिटी’ को सर्वश्रेष्ठ उदाहरणसमेत हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

नेपाल–भारतको सहकार्यका क्षेत्र एकाध परियोजनामा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले रेलवे, सडक, जलविद्युत्, एकीकृत जाँच चौकीलगायत विविध क्षेत्रमा द्विपक्षीय सहायताका लागि सम्झौता भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पारस्पारिक लाभका लागि दुई देशबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण सिर्जना गरेको बताउनुभयो । “हाम्रा दुई देश बीचको सम्बन्ध यति गहन छ, यसलाई जहाँ र जहिले पनि विस्तार गर्ने अवसर रहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल र भारत दुवै स्पष्ट बहुमतसहित राजनीतिक स्थायित्वको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बढ्दो आर्थिक वृद्धिदर, गतिशील र सक्षम मानव संशाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको छ ।”

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तासमेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्