फोहरबाट ग्यास उत्पादन गरिने



२३ भदौ २०७६, काडमाडौं

घोराही उपमहानगरपालिकामा फोहरबाट खाना पाउने ग्यास निकालिने भएको छ । ग्यास उत्पादनका लागि कामसमेत भइरहेको छ । आगामी एक वर्षभित्रै फोहरबाट ग्यास निकालिने उपमहानगरपालिकाले जनाएको छ ।

वडा नं– १६ को ल्याण्डफिल साइटमा फोहरबाट ग्यास निकाल्न थालिएको हो । उपमहाननगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्ने कामअघि बढाइएको छ । त्रिपक्षीय सम्झौता गत मङ्सिर ५ गते गरिएको थियो । त्यही अनुसार अहिले काम भइरहेको छ ।

ग्यास उत्पादन गर्न करीब रु २० करोड लगानी लाग्ने बताइएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरको रहने छ । सोबाट ग्यास सिलिण्डरमा भरेर बजारमा पठाइने बताइएको छ । ग्यास उत्पादनका लागि अहिले भौतिक संरचना निमार्णको कार्यभइरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्रबन्धक हरिशरण श्रेष्ठले बताउनुभयो । अवका छ महीनामा भौतिक निर्माणको काम सकिने उहाँको भनाइ छ ।

“काममा कुनै समस्या नआए एक वर्षभित्रमा ग्यास उत्पादन गर्ने गरी काम गरिरहेका छौँ”, प्रबन्धक श्रेष्ठले भन्नुभयो, “प्राविधिक समस्या भए मात्र केही ढिलाइ हुनसक्छ ।” गतवर्ष सम्झौता भए पनि विभिन्न कारणले केही ढिला भएको श्रेष्ठ बताउनुहुन्छ । काम गर्दा स्थानीयवासीले केही समस्या उत्पन्न गराएका थिए । आफनो स्वास्थ्यमा असर पुग्ने भनेर स्थानीयवासीले विरोध गरेपछि केही समय काममा ढिलाइ भएको हो ।

कम्पनीले स्थानीयवासीलाई पोखरामा निर्माण गरिएको ग्यास प्लान्ट देखाएपछि स्थानीयवासी ग्यास प्लान्ट निर्माणमा सहमत भएका श्रेष्ठले बताउनुभयो । अब भौतिक संरचना निर्माणको कामले गति लिने अपेक्षा कम्पनीले गरेको छ । ग्यास उत्पादन गर्न उपमहानगरले जग्गा उपलब्ध गराएको प्लान्टका प्रबन्धक श्रेष्ठले बताउनुभयो ।

उपमहानगरले ल्यानफिल साइटमा रहेको साढे दुई बिघा जग्गा उपलब्ध गराएको छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठले जानकारी दिनुभयो । ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्