‘उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी’



२१ भदौ २०७६, काठमाडौं

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताउनुभएको छ ।

समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पछिल्लो समयमा संविधानले दिएको समावेशिता र समानुपातिक सिद्धान्तविपरीत अनावश्यक बहस शुरु भएको भन्दै प्राप्त अधिकार रक्षाका लागि एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

“दलित समुदायको अधिकार प्राप्तिका बारेमा निराशाजनक अवस्था छैन, विभिन्न सङ्घर्ष र आन्दोलनबाट केही अधिकार प्राप्त भएको छ, तर ती अधिकार गुम्ने खतरा बढ्दै गएको छ, त्यसको रक्षाका लागि जागरुक हुनुपर्ने आवश्यकता छ”, मन्त्री विश्वकर्माले भन्नुभयो । उहाँले मुलुकको समृद्धि र सुशासनका लागि दलित सुमदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास अपरिहार्य भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुषालले परिवर्तनका लागि मुख्य विषय राजनीति भएकाले दलित समुदायले भोग्दै आएका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासँगै कार्यान्वयनमा जोड दिनुभयो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । सांसद रामप्रित पासवानले समानताका लागि लडाइँ लड्न जरुरी रहेको बताउनुभयो ।

सोही अवसरमा पत्रकार मेघराज रसाइलीद्वारा लिखित ‘आन्तरिक विभेदको वृत्तान्तः दलित र गैरदलितभित्रका विभेद र छुवाछूत’ नामक पुस्तकसमेत सार्वजनिक गरिएको थियो । वार्षिकोत्सवको अवसरमा फाउण्डेशनले संविधान, सङ्घीयता र प्रतिनिधित्व, सीमान्तकृत समुदाय र सामाजिक न्याय, दलित नेतृत्वः अबको बाटोलगायतका विषयमा छलफल सञ्चालन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्