‘ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील छ’



२१ भदौ २०७६, काठमाडौं

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकका लागि सरकार सदैव सहयोग गर्न संवेदनशील रहेको बताउनुभएको छ ।

गोदावरी नगपालिका–१४ बाडेगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज आयोजना गरेको ‘स्मारिका विमोचन तथा छैटौँ साधारणसभा’ कार्यक्रममा उहाँले मुलुकमा ज्येष्ठ नागरिकको हक–अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम अघि बढिरहेका स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “देशमा रहेका ७५३ स्थानीय तहमध्ये सरकारले करीब २०० स्थानीय तहमा जेष्ठ नागरिक सेवा केन्द्र शुरु गर्न लागेको छ ।”

साठी वर्ष पार गरेका यस्ता व्यक्ति आदरणीयका साथै पूजनीय रहेको मन्त्री थापाको भनाइ छ । उहाँले विगतका युवा हालका ज्येष्ठ नागरिकले जीवनको लामो समय समाजमा योगदान गरिसकेकाले उहाँहरुबाट पुरानो ज्ञान, अनुभव, सीप, कला, दक्षता र थुप्रै भोगाइ सङ्कलन गर्न सकिने बताउनुभयो ।

सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य पम्फा भुषालले समाजमा बढ्दै गएको सो केन्द्रको सुविधाले आज वृद्ध बुबाआमामा पुनःमिलनको सम्बन्ध फर्काउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सानो छँदा हरेक चोक, पसल र घर वरपरका पाटीपौवा वृद्धवृद्धाहरु बसेर कुराकानी र छलफल गर्ने परिपाटी थियो ।” उक्त परम्परा हाल हराउँदै गएकाले सो केन्द्रको स्थापनापछि पुनः सङ्गठित हुनेमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

अर्का सदस्य नवराज सिलवालले ज्येष्ठ नागरिकले असल समाज निर्माण गर्न सहयोग गरेकामा राज्य उहाँहरुप्रति निकै खुशी भइरहेको बताउनुभयो । नगरपालिका उपप्रमुख मुना अधिकारीले ज्येष्ठ नागरिकको व्यवस्थापनका लागि नगरपालिकाले प्रत्येक वडामा रु एक लाख विनियोजन गरिसकेको जानकारी गराउनुभयो ।

कार्यक्रममा कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकका लागि सातै प्रदेशमा आरोग्य आश्रम निर्माण गर्ने योजना अघि बढिरहेको बताउनुभयो । केन्द्रका अध्यक्ष जोगबहादुर महर्जनले घरवरपरका वृद्धवृद्धामा मुन्टो बर्टार्ने र भावनात्मक रुपमा टाढा–टाढा हुँदै जाने परिपाटी बढेसँगै केन्द्रले एकताको सूत्रमा बाँध्न मद्दत गर्ने अपेक्षा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्