गर्मीले तराइमा सास्ती



११ भदौ २०७६, काठमाडौं

विगत केही दिनदेखि तराईमा गर्मी बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । चर्को घामका कारण मानिसहरुलाई बाहिर निस्कन समेत कठिनाई हुन थालेसँगै दैनिकी समेत सकस बनेको छ । अकस्मात बढेको गर्मीसँगै बालबालिका तथा वृद्धहरुमा समस्या समेत देखिन थालेको हो ।

एक सातादेखि गर्मी ह्वात्तै बढेको छ । गत वर्ष यो समयमा विराटनगरमा अधिकतम तापक्रम ३७ दशमलव पाँच डिग्री सेन्टिग्रेटसम्म पुगेको थियो । तर यो वर्ष अधिकतम तापक्रम ३९ दशमलव पाँच डिग्री सेन्टिग्रेटसम्म पुगेको छ । यद्धपी अनुभुति भने ४२ डिग्री तापक्रम बराबरको हुने गरेको छ । कडा घाम लागेको र सापेक्षिक आद्रता पनि बढेको कारण बढी गर्मी महसुस भइरहेको छ ।  गर्मी मौसममा झाडा पखाला, वान्ता, अरुची, जण्डिस, टाउको दुख्ने, रिङगटा लाग्ने, औलो, इन्सेफ्लाइटिस, कमजोरी, पेट र पिसाव सम्बन्धि विरामी बढ्ने गरेका छन् ।

गर्मी मौसममा सरुवा रोगको प्रकोप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् ।  प्रशस्त पानी पिउने, बाहिर निस्कदा छाता ओढ्ने, जथाभावी वासी, सडे गलेको, झिँगा भन्केको खाना नखाने, पानी उमालेर या शुद्ध बनाएर मात्र पिउने, काम गरेर या हिडेर आउने बित्तिकै शरिरको पसिना नओभाइ ननुहाउने जस्ता कार्य गरे मात्र पनि गर्मीजन्य रोगबाट बच्न सकिन्छ । गर्मीका कारण अस्पतालहरुमा बिरामीको संख्या समेत बढेको छ । बिराटनगर स्थित कोशी अस्पतालका जनस्वास्थ अधिकृत तथा इमरर्जेन्सी बिभाग प्रमुख रघुनन्दन अधिकारीले गर्मीका कारण बान्ता हुने, बेहोस हुने जस्ता समस्याका दैनिक करीब १५ जना  बिरामीहरु अस्पतालमा आउने गरेका छन् । गर्मी बढेसँगै ज्वरो टाइफाइड जस्ता बिरामीको संख्यामा समेत बृद्धि भएको अधिकारी बताए ।

प्रकृतिमाथिको अत्याधिक दोहन र ग्लोबल वार्मीङका कारण बिश्वमै तातो बढिरहेको जानकारहरु बताउँछन । तापक्रम बढेसँगै स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् । गर्मीमा लामखुट्टेको प्रकोपबाट समेत जोगीने उपायमा सचेत रहन र शितलमा बस्न तथा घर बाहिर निस्कदा छाताको प्रयोग गर्न समेत चिकित्सकले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्