रवि लामिछानेविरुद्धको अभियोगपत्र : शालिकरामलाई टर्चर गर्ने माध्यम अस्मिता !



०९ भदौ २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको सोमबार बयान लिइँदैछ । प्रहरीले कार्यालय समय सुरु भएसँगै दुबै जनालाई अदालतमा उपस्थित गराएर बयान लिन लागिएको हो ।

पुडासैनी मृत्यु प्रकरणमा मुछिएकी अर्की आरोपी ‘रुकु’ भनिने अस्मिता कार्कीको भने आइतबार नै बयान सकिएको थियो ।

सरकारी वकीलको कार्यालयले आइतबार लामिछानेलगायतविरूद्ध पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोगसहित जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको हो ।

दुरूत्साहनको अभियोग लगाउँदै उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो ।

अभियोगपत्रमा के छ ?

लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्तर्गतको दफा १७७ तथा दफा १८५ को उपदफा (१) र (२) बमोजिमको कसूर अपराध गरेको देखिएको भन्दै अभियोगपत्रमा मागदाबी गरिएको छ ।

प्रहरीसँगको बयानमा अस्मिताले कँडेलसँग मिलेर पुडासैनीलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएको स्वीकार गरेकी छन् । अस्मिताले न्यूज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई समेत पठाएकी थिइन् । फोटो पठाउँदै अब कार्यक्रममा प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन् ।

अभियोगपत्रमा अस्मिताले न्यूज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सोही फोटो समेत मिसिलमा समावेश गरिएको छ ।

अभियोगपत्रमा कँडेलले आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनीलाई धम्क्याएको दाबी गरिएको छ । समाचार बनाउने क्रममा कँडेलले पुडासैनीलाई गाली गर्ने कुरा रवि लामिछानेको बयानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ ।

यता रवि लामिछानेले आफूले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन नगरेको भन्दै बयान दिएका छन् ।
तर, अभियोगपत्रमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की मिलेर पुडासैनीलाई मानसिक रुपमा विक्षिप्त हुने गरी मानसिक तनाव दिएको कारण सो दुःख सहन नसकी पुडासैनीले आत्महत्या गरेको उल्लेख गरिएको छ ।

रामप्रसाद रिमाल, जीता बराल, महादेव खत्री, यज्ञबहादुर कार्की, रिता केसी, विप्लव पोखरेल, उमेश पुडासैनीका कागजको व्यहोराबाट पनि जाहेरी तथा मृतकले रेकर्ड गरेको भिडियोको प्रतिवादी उपरको अभियोगको समर्थन र पुष्टि भएको देखिन आएको अभियोगपत्रमा दाबी गरिएको छ ।

पुडासैनी दुई हप्ताअघि चितवनको नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले आफूलाई मर्न बाध्य पारेको बताएका थिए ।

सोही आरोपमा साउन ३० गते रवि र युवराज पानीपोखरीस्थित न्यजू२४ कार्यालयबाट पक्राउ परेका थिए भने अस्मिता कार्की कलंकीबाट पक्राउ परेकी थिइन् ।

पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्