‘रविसँगै शालिकरामको परिवारले पनि न्याय पाउनुपर्छ’ : सिताराम कट्टेल (धुर्मुस)



०६ भदौ २०७६, काठमाडौँ

रवि लामिछाने हिरासतमा परेसँगै उनका समर्थकले उनलाई सान्त्वना दिइरहेका छन् । यस्तै कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) ले पनि रविको समर्थन गर्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

धुर्मुसले सत्य सामुन्ने आउन जरुरी भएको कुरा आफ्नो स्टाटसमा बताएका छन् । साथै उनले रवि निर्दोष भएको भन्दै उनले र शालिकरामको परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् ।

धुर्मुसको स्टाटस जस्ताको तस्तै–

अदालतले अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दोषि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै हो । पत्रकार स्व.शालिकराम पुडासैनीको आत्महत्या (पोष्टमार्टम रिपोर्ट अनुसार) संगै भ्रष्टाचार, अन्याय, ढिलासुस्ती र अनियमितताका विरुद्ध र दुःखीपीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रबि लामिछाने दाई अनुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो ।

समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, सालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ।

साथै घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्