सूर्यमुखी खेतीबाट राम्रो उत्पादन भएपछि सबै कृषक उत्साहित, तपाई नि लाग्ने होईन ?



०६ साउन २०७६, काठमाडौं

पाल्पामा सूर्यमुखी खेतीबाट राम्रो उत्पादन लिन थालेपछि कृषक उत्साहित भएका छन् । निस्दी गाउँपालिका वडा नं ४ मित्याल मुढाबासका किसानले परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उक्त खेती गरेकामा पहिलोपटक राम्रो उत्पादन भएको हो । उक्त गाउँपालिकाको कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक पदम खाम्चाले बताउनुभयो । उहाँले सूर्यमुखीलाई चारदेखि छपटकसम्म सिँचाइ हुनुपर्ने हुनाले सिँचाइ र मलको व्यवस्थापन मिलाउनसके उत्पादन राम्रो हुने जानकारी दिनुभयो ।

जनसुधार आइपिएम कृषक पाठशालाको संयोजनमा सामूहिकरुपमा उक्त खेती थालिएको हो । परम्परागत मकैखेतीबाट सोचेजति आम्दानी लिन नसकेकाले सो खेती परीक्षणस्वरुप पहिलोपटक गरिएकामा उत्पादन राम्रो लिन सकिनेमा कृषकहरू ढुक्क छन् । समुन्द्रीसतहदेखि करीब १५ सय मिटर उचाइमा रहेको सो क्षेत्रमा कृषकले यसअघि परम्परागत ढङ्गबाट मकैखेती तथा केही तरकारीखेती गर्दै आएका थिए । बढी उत्पादन लिनका लागि हाइब्रिड सूर्यमुखी खेती गरिएको र उत्पादन पनि सोचेअनुरुप नै भएका उक्त पाठशालाका अध्यक्ष मिनबहादुर सुनारीले जानकारी दिनुभयो ।

स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल फाइदाजनक हुनेमा जोड दिँदे उहाँले उत्पादन भएको सूर्यमुखीको दाना तेल कम्पनीले गाउँमै आएर खरीद गर्ने, केही कृषक आफैँले प्रयोग तथा गाउँमै बिक्री गर्ने गरेको बताउनुभयो ।यसपटक करीब ८० मुरी सूर्यमुखी उत्पादन भएकाले प्रतिकेजी रु १०० मा बिक्री गरिने अध्यक्ष सुनारीको भनाइ थियो । गाउँपालिकाको एक लाख ५० हजार तथा कृषकको ५० प्रतिशत अनुदानमा सो खेती गरिएको हो ।

कृषक पाठशालाले संयोजन गरेर प्रत्येक कृषकले खेती गरेकामा स्थानीय बोम सुनारी एक्लैले १८ मुरीसम्म उत्पादन गर्नुभएको थियो। पहिलोपटकमै सूर्यमुखी खेतीको राम्रो उत्पादन लिएपछि मित्याल क्षेत्रलाई सूर्यमुखीको पकेट क्षेत्रका रुपमा समेत विकास गर्न लागिएकामा कृषक उत्साहित भएका छन् । सूर्यमुखी उत्पादन भएपछि यसको बिक्री तथा तेल व्यवस्थापनका निम्ति सहयोग गरिने उक्त गाउँपालिका कृषि शाखा संयोजक नवराज घिमिरेले बताउनुभयो । कृषि शाखाले सूर्यमुखीमा लाग्ने रोग किरा नियन्त्रणमा सहयोग गरेको शाखाले यसको बिक्री व्यवस्थापनमा समेत सहयोग गर्ने बताएपछि कृषक उत्साहित भएका हुन् ।

यस्तै पाल्पाकै पूर्वखोला गाउँपालिकामा पनि परीक्षणका रुपमा गरिएको सूर्यमुखीखेतीबाट कृषक सन्तुष्ट बनेका छन् । गाउँपालिकाले ३० किलो सूर्यमुखीको बीउ दिएपछि कृषकले यसको उत्पादन राम्रो लिएका हुन् । गाउँपालिकाका कृषि विशेषज्ञ कमानसिं थापाले यस वर्ष कम तुसारो परेका कारण पनि राम्रो उत्पादन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्