स्थानीय उत्पादन प्रवर्द्धन गर्न एकल महिलाद्वारा छहारी भवनको प्राङ्गणमा हाटबजार शुरु



२९ असार २०७६, काठमाडौं

मानव अधिकारको लागि महिला, एकल महिला समूहले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न हाटबजारको शुरुवात गरेको छ ।

स्थानीय उत्पादनको बजारीकरण गर्न र महिलाहरुलाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ हात्तीगौडा स्थित छहारी भवनको प्राङ्गणमा समूहले हाटबजारको शुरुवात गरेको हो । आर्थिक गतिविधिका साथै रोजगारी बढाउन, महिलाहरुले आफैंले उत्पादन गरेको सामग्रीलाई सहजरुपमा मानिसहरु माझ पुर्याउन सक्ने वातावरण बनाउन, महिलाहरुको आर्थिक स्थितिमा सुधार ल्याउनुका साथै महिलाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले हाटबजारको शुरुवात गरिएको संस्थाको संस्थापक अध्यक्ष लिलि थापाले परिवर्तन खबरलाई बताईन् ।

बूढानीलकण्ठ नगरपालिकाका महिला तथा एकल महिलाहरुले यस हाट बजारमा आफूले बनाएका हस्तकलाका सामान, अर्गानिक तरकारी, अचार, झोल साबन, हार्पीक, किचेन सेट, डायनिङ सेटहरु, महिलाहरुले लगाउने पोतेका सामानहरु, झोलाहरु आदि इत्यादी बजारमा राखिएको संस्थाका सूचना अधिकृत उमा थापाले जानकारी गराईन् ।

छहारी भवनको प्राङ्गणमा शुरु गरिएको हाटबजार प्रत्येक महिनाको अन्तिम शुक्रबार दिनको १ बजे देखी ५ बजे सम्म चल्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्