प्रदेश १ को बजेट बहुमतले पारित



२१ असार २०७६, इटहरी

प्रदेश एक सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट बहुमतले पारित भएको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले असार १ गते सदनमा प्रस्तुत गरेको बजेट आज बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो । प्रदेशसभा बैठकमा मन्त्री आङ्वोले पेस गरेको विनियोजन विधेयक अन्तरगत सबै मन्त्रालयहरुको भिन्दाभिन्दै शिर्षकमा छलफल भएको थियो ।

विनियोजन विधेयकको छलफल बिहिबार सकिएको थियो । शुक्रवारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शिवनारायण गनगाईले खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए । सभामुख प्रदिपकुमार भण्डारीले सांसद गनगाईलाइ उक्त प्रस्ताव फिर्ता लिन समय दिएको भएपनि उहाले प्रस्ताव फिर्ता लिन मानेन् ।  जवाफमा आर्थिक मामिला तथा योजनामन्त्री आङ्वोले अर्थ मन्त्रालय जोगि बस्ने कुटी नभएको टिप्पणी गरे । प्रदेश सरकार हिजोको जिविस जस्तो नभएको टिप्पणी गर्दै उनले जननिर्वाचित राजनितिज्ञ बस्ने अड्डा भएकाले सरकारलाइ भैपरी आउँदा र प्राथमिकता प्राप्त आयोजनामा बजेट अपुग हुँदा उक्त शिर्षकको बजेट उपयोग हुने बताए ।

प्रदेश एक सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु. ८ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्