‘भूकम्प’ ले जगाएको हिरो प्रदिप, आज भए ‘स्टार’…



१० साउन २०७७, काठमाडौँ

प्रदिप खड्का अहिलेका हटकेक अभिनेता हुन् । युवापुस्तामा उनको लोभलाग्दो क्रेज र डिमाण्ड रहेको छ । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माता निर्देशकको पनि कमी छैन । अहिले प्रदिपको नामले मात्र पनि चलचित्रहरु सफल हुने गर्छन् ।

प्रदिपलाई यो नाम, सम्मान र चर्चा चलचित्र ‘प्रेमगीत’ ले दिलाएको हो भन्दा खासै फरक पर्दैन । किनकी उनलाई दर्शकले चिन्न थालेका नै चलचित्र ‘प्रेमगीत’ बाट हो । प्रदिपले प्रेमगीत भन्दा पहिले आफ्नै लगानीमा चलचित्र ठूलो मान्छे र स्केप मा काम गरेका थिए । तर विडम्बना त्यसबेला उनलाई दर्शकले पत्याएनन् ।

दुई चलचित्रमा नै लगानी डुबेपछि प्रदिपको सपना पनि टुट्यो । केही उपाय नलागेपछि उनले विदेशिने निर्णय लिए । अष्ट्रेलिया जानको लागि उनले सम्पूर्ण तयारी पुरा गरिसकेका थिए । तर त्यहि समयमा नेपालमा विनाशकारी भूकम्प आइदियो । भूकम्पले प्रदिपको अष्ट्रेलियाको फ्लाइट पनि केही समयको लागि रोकियो । सुरुमा त प्रदिप यो घटनापछि निकै निराश भएका थिए । तर त्यहि भूकम्प का कारण आज उनी यो स्थानसम्म हुन् ।

भूकम्प ले नेपाल र नेपालीको निकै नोक्सान गर्यो । तर यदि भूकम्पले कसैलाई केही फाइदा गरेको छ भने त्यसमा अभिनेता प्रदिप खड्का पनि पर्छन् । भूकम्प गएकै समयमा चलचित्र ‘प्रेमगीत’ मा नायकको खोजी भैरहेको थियो । प्रदिप पनि एकचोटी जाउ न त भन्ने हिसाबले अडिसन दिन गए । आज यतिधेरै चर्चा कमाउन सायद प्रदिपको भाग्यमा नै लेखेको रहेछ त्यसैले ‘प्रेमगीत’ को अडिसनमा उनी नै छानिए । उनलाई निर्माता र निर्देशकले निकै मन पराए । तर निर्माता निर्देशकले यो क्षेत्रमा लामो समयसम्म काम गर्ने भए मात्र चलचित्रमा खेलाउछौँ भनेका थिए जुन कुरा प्रदिप आफैँ चाहन्थे ।

उनले ‘प्रेमगीत’ मा निकै मेहेनत गरे र त्यसअनुसारको फल पनि पाए । चलचित्र ‘प्रेमगीत’ लाई दर्शकले निकै रुचाए भने प्रदिप एकाएक स्टार बने । तर प्रदिप आफूलाई स्टार भने मान्दैनन् । उनी आफूलाई स्टार भन्दापनि एउटा राम्रो कलाकारको रुपमा चिनाउन चाहन्छन् ।

बेला बेलामा आफ्नो बोलीको कारण विवादमा पनि आउने गरेका छन् उनी । तर उनले दर्शकले दिएको हरेक प्रतिक्रियालाई सकरात्मक रुपमा लिने गरेका छन् । जसका कारण नै उनी करौडौँ फ्यानको दिलमा राज गर्न सफल भएका छन् । उनले ‘प्रेमगीत’ पछि ‘प्रेमगीत २’, ‘लिलिबिली’, ‘लब स्टेशन’,’रोज’ जस्ता चलचित्रमा काम गरिसकेका छन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र प्रेमगीत ३ रिलिजको तयारीमा थियो । तर कोरोनाको त्रासको कारण भएको लकडाउनले प्रेमगीत ३ को रिलिज डेट पछाडी धकेलिएको हो । अब प्रेमगीत ३ दर्शकले आउने चैत्रमा हेर्न पाउने निर्माण टिमले बताएको छ ।

प्रदिप अहिलेका निकै सफल कलाकारको रुपमा परिचित छन् । उनीसँग दाम, नाम, सम्मान सबैकुरा छ । तर उनी आफूले यो क्षेत्रमा अझै निकै मेहेनत गर्न बाकिँ भएको बताउँछन् । जे होस आज चलचित्र उद्योगले एउटा राम्रो कलाकारको रुपमा प्रदिपलाई पाएको छ । जुन कुरा प्रदिप र सम्पूर्ण चलचित्र जगतका लागि निकै राम्रो हो ।

प्रतिक्रिया दिनुहोस्