‘गलबन्दी’ विवाद सामाजिक सञ्जालदेखि संसदसम्म, ठूल्ठूला कलाकारहरु सपूतको साथमा



०९ असार २०७६, काठमाडौं

पछिल्लो समय गलबन्दी गीत मार्फत निकै चर्चामा आएर दर्शक श्रोताका मनमुटुमा बस्न सफल गायक प्रकाश सपूतको सोही चर्चित गलबन्दी गीतको विवादले धेरै दिन देखि साङ्गितीक बजार तताइरहेको छ । गीत चोरीको आरोप लागेका सपुतलाई यतीबेला जातको कुरा उठाएर केहि व्यक्तिहरुले बिभिन्न सामाजिक सञ्जाल मार्फत जलिल गरिरहेका छन् । यो मुद्दाले पाउनु पर्ने वास्तविक आकार भन्दा फरक स्वरुप पाईरहदा हाम्रो संकुचित सोचको समाज कहिले सम्म यस्तै खाले अन्धविश्वासले जकडी रहला भन्ने सवाल खडा गरेको छ ।

छोटो सयममा नै यो गीतले युट्युबमा डेढ करोड बढि भ्यूज पाउन सफल भयो भने दर्शकले पनि यो गीतलाई औधी रुचाए । गीत सफल भैसकेपछि पनि प्रकाशले सुख भने पाएनन् । प्रकाशको गलबन्दी गीतको भाका चर्चित गायक शम्भु राईको पुरानो देउसी गीतसँग केही मिल्न गएपछि शम्भुले प्रकाशलाई गीत कपिराइट भएको आरोप लगाए । यस विषयमा प्रकाश र शम्भु भेटेर वार्ता पनि गरे । तरपनि शम्भुले आफ्नो अडान छाड्नन् र प्रकाशलाई मुद्दा हाले ।

यतिबेला कला क्षेत्रका संघसंस्थाहरुबाट पनि यो विषयमा चासो हुन थालेको छ । ‘गलबन्दी’का संगितकारले नियतवश लय भाका हुबहु बनाएको ठहर किराती नव सांस्कृतिक केन्द्रले गरेको छ । अध्यक्ष राकेश किरातीले प्रेस विज्ञप्ति मार्फत चलाखीपूर्ण ढंगले लय भाका मिलाएको ठहर गरेका छन् ।

अधिकांश दर्शक श्रोताले गीतलाई दाँजेर हेरे र शम्भूको गीतको भाकासँग प्रकाशको गीतको भाका कता कता मिल्ने भए पनि पुरै भाका भने नमिलेको प्रतिक्रिया दिए भने केही दर्शक श्रोता तथा शम्भु राई निकटहरुले हाल जातको कुरा उठाएर प्रकाशलाई जलिल गरिरहेका छन् ।

तर अधिकांश दर्शक श्रोता तथा कलाकारहरुले भने यो आलोचित समयमा गायक प्रकाश सपूतको साथ दिइरहेका छन् । चर्चित युवा गायक शिव परियारले फेसबुकमा निकै भाबुक स्टाटस पोष्ट गर्दै प्रकाशको सर्पोटमा लेखेका छन् ‘बल, बुद्दी, दुस्प्रचार, चरित्र हत्या जस्ता हर कोसिशले तल झार्न नसकेर अब जातको विषयलाई लिएर खिल्ली उडाउने यस्ताहरुबाट के आशा गर्ने ? यस्तो तत्वहरुको बिरुद्दमा अब चुप लागेर बस्ने अवस्था रहेन, मलाई मेरो जात प्रति सधैं गर्व छ’ ।

त्यस्तै अर्का लोकप्रीय युवा गायक प्रमोद खरेल लेख्छन् ‘दिल नभएकाहरु साथका कुरा गर्छन, विरुवा नरोप्नेहरु पातका कुरा गर्छन, रगत एउटै सास एउटै जुनी एउटै यहाँ विवेक नभएकाहरु जातका कुरा गर्छन’ ।

अर्का युवा लोक गायक बद्री पंगेनी लेख्छन् ‘गलबन्दी गितको विवादलाई लिएर गायक प्रकाश सपूत माथी जुन प्रकारको जातिय आक्षेप लगाएर सामाजिक संजालमा गालीगलौज गरिएको छ त्यो एक्काइसौं शताब्दीको सबैभन्दा दरिद्र सोँच हो म यस्ता प्रकारको हर्कतको ब्यक्तिगत रूपमा घोर निन्दा गर्दछु। दुई कलाकार बिचको विवाद संवाद को माध्यम बाट सुल्झाउने प्रयास भईरहेको अवस्थामा कोहि कसैबाट पनि जातियता माथी प्रहार हुन्छ भने हामी त्यस्को विरुद्ध मा उठ्न बाध्य हुनेछौ। साथै अग्रज गायक शम्भु राई प्रती पनि नकारात्मक टीका टिप्पणी नगरिदिनुहुन मेरो ब्यक्तिगत रुपमा विनम्र अनुरोध छ’ ।

लोकगीत ‘गलबन्दी’ विवादको विषय संसदमा पनि प्रवेश पाएको छ । सोमबार कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईको मुद्दाप्रति आपत्ति जनाए । सांसद विश्वकर्माले भने, ‘यद्यपि प्रकाश सपूतले गाएको गीतको भाका कसैसँग मिल्दैन । शम्भु राईसँग त झनै मिल्दैन ।’ यति मात्र होइन पछिल्लो समय सपूतमाथि जातीय भेदभावका दृष्टिले गालीगलौज गरिएको भन्दै सांसद विश्वकर्माले आपत्ति जनाए ।

दिनरात खटेर दर्शक श्रोताहरुलाई निरन्तर मनोरञ्जन प्रदान गर्ने प्रतिष्ठित श्रष्टाहरु प्रती जातीय आक्षेप लगाएर तथानाम गाली गर्नु कत्तीको जाहेज हो त ? हामी आफुलाई प्रकृतीको सर्बश्रेष्ठ जाती मान्ने युवा मानव जाती एक्काइसौं शताब्दी सम्म पनि यस्तै संकुचित सोँचमा नै जिउने हो भने समाज परिवर्तनको हाम्रो सपनाले कुन रुप लेला त ?

प्रतिक्रिया दिनुहोस्