शहीदद्वय विपिन र दिलको स्मृतिमा रोपिए ईन्द्रकमल र अमला



०२ असार २०७६, काठमाडौं

शहीद र वेपत्ता स्मृति प्रतिष्ठानद्वारा कमरेड विपिन भण्डारी र दिल बहादुर राईको स्मृतिमा ईन्द्रकमल र अमलाको विरुवा रोपिएको छ ।

भण्डारी र राईलाई गिरफ्तार गरिएको दिनलाई सम्झदै शहिद स्मृति उद्यानमा विपिनको नाममा ईन्द्रकमल र दिलको नाममा अमलाका विरुवा रोपिएको हो ।

आफ्नो भाई शहिद र ससुरा वेपत्ता रहेको बताउँदै नेकपाका केन्द्रीय सदस्य प्रमुख अतिथि मणी थापाले शहिदहरुले देशको निम्ती बलिदान दिएको बताए ।

शहीदहरुको बाटो अल्मलिएको बताउँदै थापाले शहीदका सपनालाई पार्टी र सरकार मिलेर पुरा गर्नुपर्ने तथा शहिद र वेपत्ता परिवारले सडकमा हिड्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै विशेष अतिथि नेकपा केन्द्रीय सदस्य दिलु पन्तले पार्टी भित्रका युवा आन्दोलनमा लागेर ल्याएको परिवर्तनलाई पार्टीले नयाँ ढंगले सोच्नु पर्ने भन्दै जनताले सोचे अनुसार पार्टी चल्नु पर्ने बताईन् ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै शहिद र वेपत्ता प्रतिष्ठानका अध्यक्ष गंगा बहादुर लामाले आन्दोलनमा आफू लाग्दाको अनुभव सुनाउँदै दुःख पर्दा पनि आन्दोलनलाई सफल पार्न हिडेको बताए ।

अहिले शहीद परिवारहरु प्रति पार्टीले आशा देखाएको तर खासै वास्ता नगरेको अध्यक्ष लामाको गुनासो छ ।

शहीद र वेपत्ता प्रतिष्ठानकै सदस्य रिता थपलियाले सर्वहारा, उत्पिडित वर्गको मुक्तिको लागि १० वर्षे जनयुद्ध कठिन र चुनौतीपूर्ण मोडमा पुग्दा नेपाली क्रान्तिलाई विजय गराउन हामीले होनाहार सन्ततिहरु गुमाएको बताईन् ।

शहीदहरुको बलिदानको माटोमा हामी उभिएको भन्दै उनले शहिद प्रति सम्मान र श्रद्धाञ्जली समेत दिईन् ।

शान्तिनगर उपभोक्ता समितिको कार्यालयमा सम्पन्न भएको अन्तर्क्रियात्मक कार्यक्रम उपेन्द्र तिमल्सिनाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्