राजेश हमालले ‘प्रेमगीत ३’ मा प्रदिपको पिता बन्न अस्वीकार गरे !



०२ असार २०७६, काठमाडौं

चलचित्र ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा अभिनेता राजेश हमाल रहने चर्चा चलिरहेको थियो । निर्माता सन्तोष सेन र हमालबीच फिल्मलाई लिएर विभिन्न चरणमा छलफल समेत भएको थियो । स्क्रिप्ट सुनेपछि फिल्म गर्ने मनस्थिति बनाएका हमालले अन्ततः ‘प्रेमगीत ३’ नगर्ने भएका छन् । यसको जानकारी निर्माता सेनले स्वयमले दिएका छन् ।

उनका अनुसार फिल्ममा राजेश हमाललाई प्रदीपको पिताको भूमिका अफर गरिएको थियो। फिल्ममा हमालको राजाको भूमिका थियो । हमालले प्रदीपको बुवाको सट्टा दाईको भूमिका गर्ने इच्छा व्यक्त गरेका थिए । निर्माण पक्ष यसका लागि पनि तयार थियो । केही दिन अगाडि सांग्रिला होटलमा अन्तिम छलफल भएकोमा हमालले सेड्युल मिलाएर खबर गर्ने बताएका थिए । आइतबार उनको एक सदस्यबाट सेड्युल नमिलेका कारण फिल्म गर्न नसक्ने म्यासेज आएपछि उनी नरहने पक्का भएको छ ।

हमालले फिल्म नगर्ने भएपछि निर्माता सेनले प्रदीपको पिताको भूमिकाका लागि सोमबारबाट कलाकार छनोटमा जुट्ने बताए । सकेसम्म उनी थिएटरका कलाकार लिने सोचमा छन् । थिएटरबाट नभए चलेका कलाकार नै अनुबन्ध गर्ने उनी बताउँछन् । यस फिल्ममा अभिनेता हमालको प्रवेश हुने चर्चाले दर्शकमा निकै उत्साह थपिएको थियो । पहिलो पटक प्रदीप र हमाललाई स्क्रिन साझेदार गरेको हेर्ने दर्शकको ठूलो इच्छा थियो ।

प्रतिक्रिया दिनुहोस्