बाँदर आतङ्क नियन्त्रणका लागि ठोस योजनाको अभाव



०१ असार २०७६, पाल्पा

पाल्पामा बाँदरले सताएपछि कृषक हैरान भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका विभिन्न स्थानमा कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमणसमेत गर्न थालेको छ ।

जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिकका बस्तीमा समेत पसेर घरभित्रैबाट अन्न खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार तथा सेराका किसान बाँदरले खेती खाएपछि हैरान परेको कृषकको भनाइ छ । बिहानैदेखि बाँदर घरमै आएर बार्दली तथा कोठामा राखेका मकै ओसार्ने तथा खेतबारीमा भएका तरकारी बाली खाएर नष्ट पारेको गुनासो कृषकको छ ।

रामपुर नगरपालिका–८ का कृषक शिवप्रसाद पङ्गेनीले अम्दाहा खेतमा लगाएको मकै नष्ट पारेपछि चिन्ता लागेको बताउनुभयो । “हिउँदमा आलु खाएर सत्यानास पा¥यो, अहिले फेरि एउटा गह्राको मकै खाने तथा च्यातेर नष्ट पा¥यो कोसँग हारगुहार गर्ने हैरान परियो”, पङ्गेनीले भन्नुभयो । करीब १०० को हाराहारीमा बाँदर आउने र पटक–पटक लखेटे पनि दुःख दिन छाडेको छैन ।

अहिले मकैलगायत बोडी, काक्रा, भिन्डीलगायतका तरकारी खेतबारीमा छन् । अहिलेसम्म आलोपालो गरेर बाँदर बिहानदेखि बेलुकासम्म कुरे पनि खाना खाएका बेला मौका छोप्ने कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ ।

बाँदरले हैरान पारेपछि कालीनदी छेउछाउका केही खेतमा खेती गर्न समेत छाडिएको छ । गाउँका युवा विदेशिने, घरमा रहेका महिला, बालबालिका तथा वृद्धवृद्धाले बिहानदेखि बेलुकासम्म बाँदर कुर्न तथा लखेट्न समस्या भएपछि केही खेत बाझै रहेको कृषकको भनाइ छ ।

गत वर्ष बगनासकाली गाउँपालिकामा एक महिलालाई आक्रमण गरेको थियो भने अहिले फेरि तानसेन नगरपालिका–१३ छेर्लुङका एक महिलालाई गम्भीर घाइतेसमेत बनाएको छ । बगनासकाली गाउँपालिका पाल्पाले बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर बाँदर नियन्त्रण समिति गठन गरे पनि खासै प्रभावकारी भएको छैन ।

रामपुर नगरपालिकाले बाँदर नियन्त्रणका लागि अनुरोध गर्दै गत वर्ष कृषकको निवेदन परेको जानकारी दिएको छ । नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गत वर्ष बाँदर नियन्त्रणका निम्ति रु तीन लाख बजेट विनियोजन गरे पनि कसरी लैजाने भन्ने मेसो नभएका कारण सो रकम विकास निर्माणका काममा खर्च गरेको बताउनुभयो ।

नगर प्रमुख थापाले अब भने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रामपुरमा लागू गर्ने समयमा बाँदर कुरुवा राखेर उसका निम्ति रोजगार पनि हुने, बाँदर नियन्त्रण पनि हुने हुँदा यस्तो विचार गरेको बताउनुभयो । बाँदरले हैरान पारेपछि जागिर गर्ने तथा विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको छ ।

पाल्पाकै रम्भा गाउँपालिका–३ अगाहाखोला क्षेत्रमा भने महिलाले विकल्पको रुपमा निमुवा खेती गर्न थालेका छन् । बाँदरले कागती तथा निमुवा त्यति नरुचाउने भएका कारण पनि यसबाट आम्दानी लिन थालेको उनीहरुको भनाइ छ ।

बाँदरले पटक–पटक दुःख दिने गरेको पाल्पामा नियन्त्रणको खास योजना सफल हुन नसकेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभएको छ । यसअघि टोलटोलमा हेरालु राख्न सम्भव नभएको नियन्त्रण गरेर संरक्षण गर्न पनि नसकिएकाले र गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बनाए पनि त्यसको कार्यान्वयनमा समस्या भएको अध्यक्ष भण्डारीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्