निश्चलको फिल्ममा स्वस्तिमा हिरोइन !



२९ जेठ २०७६, काठमाडौँ

तीन वर्ष अगाडि प्रदर्शनमा आएको ‘लुट २’ फिल्मबाट चर्को आलोचना खेपेका युवा निर्देशक निश्चल बस्नेतले त्यस पछि हाल सम्म कुनै फिल्म निर्देशन गरेका छैनन् । ‘लुट २’ ले बक्सअफिसमा राम्रै आम्दानी गरे पनि उनी स्वयं ‘लुट २’ मा आफूले गल्ती गरेको स्वीकार गर्छन् ।

अब हतारमा फिल्म निर्देशन नगर्ने अठोट लिएका उनको व्यस्तता आजभोली अभिनयतर्फ बढी छ । फिल्ममा अभिनयसँगै उनले म्यूजिक भिडियो पनि बाक्लै गरिरहेका छन्, साथै केही गीतहरुमा समेत उनले आफ्नो स्वर दिइरहेका छन् ।

युवा निर्देशक निश्चलको नेपाली फिल्मलाई नयाँ दिशा दिनमा ठूलो योगदान छ । तर, फिल्म क्षेत्रले निकै आश गरेको निर्देशक अहिले निर्देशनबाट दूरी बनाएर अभिनयमा व्यस्त हुँदा धेरैले चिन्ता व्यक्त गरेका छन् । उनलाई फिल्म निर्देशनमा फर्किन दर्शक र फिल्मकर्मीबाट चर्को दबाब आइरहेकै बेला उनका शुभचिन्तकका लागि खुसीको खबर छ, हाल उनी एक फिल्मको तयारीमा छन् । फिल्मको नाम ‘दिमाग खराब’ रहने छ । अब छिटैबाट उनी यस फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् । फिल्ममा स्वस्तिमा खड्का लिड अभिनेत्रीका रुपमा अनुबन्ध भइसकेकी छिन् । यद्यपि, यस विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्