सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने



२२ जेठ २०७६, काठमाडौं

शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ ।

जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच नौ बुँदे साझा प्रतिबद्धतासहित सो नियम ल्याइन लागिएको हो । भेलामा सहभागीले शैक्षिक विकासका लागि उक्त प्रतिबद्धता कार्यान्वयन गर्न सहयोग गर्ने बताएका छन् । सुनकोशी गाउँपालिकाको पाङ्ग्रेटारमा आयोजित कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा स्थानीय तहका शिक्षा शाखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमपछि नौ बुँदे पाङ्ग्रेटार घोषणापत्रसमेत जारी गरिएको थियो ।

जिल्लाभरिका स्थानीय तहले जारी गरेका शिक्षा ऐन नियमावली, नीति तथा कार्यक्रमलाई एकरुपता तथा एकीकृत गर्नुका लागि सो कार्यक्रमको आयोजना गरिएको जिल्ला शिक्षा समितिका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । स्थानीय तहले बनाएका ऐनअनुसार स्थायी शिक्षकको सरुवा तथा बढुवा आदिको अभिलेख केन्द्रमा नदेखिएकाले अभिलेखलाई व्यवस्थित बनाउन प्रतिबद्धताको पहिलो बुँदामा उल्लेख छ ।

तह मिलान तथा समायोजनमा परेका विद्यालय र शिक्षकको विवरण व्यवस्थित गर्ने, शिक्षकको पुल दरबन्दी आवश्यकताका आधारमा सम्बन्धित विद्यालय वा अन्य विद्यालयमा पदस्थापन गर्ने व्यवस्था जिल्ला शिक्षा समितिले मिलाउने पनि सहमति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्