‘तिलिचो ताल पुगेसँगै सबै थकान मेटिन्छ’



२१ जेठ २०७६, काठमाडौं

गत हप्ता तिलिचो ताल पुगेका खोटाङ हलेसीका ४६ वर्षीय नयन कुमार राई औधी खुशी छन् । यहाँ आएर जुन आनन्दको अनुभूति गर्न पाए त्यसबाट उनी सन्तुष्ट छन् । उनी भन्छन् – “चार दिनसम्म तिलिचो ताल छेउमा रात बिताउँदा निकै आनन्दित भएँ । मैले स्वर्गीय आनन्द नै प्राप्त गरेको छु ।”

मानिसले स्वर्ग देखेको छ या छैन अथवा स्वर्गीय आनन्द प्राप्त गरेको हुन्छ वा हुँदैन भन्ने त थाहा छैन तर पनि, यो तालसम्म आइपुग्ने जो सुकैले पनि यस्तै अनुभूति
भने पोख्ने नै गरेको बताउँछन् स्थानीय पर्यटनसेवी क्षेत्र गुरुङ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका पर्यटन सहायक गुरुङको अनुभव छ – यहाँ आउने स्वदेश या विदेशी पर्यटक यति भावुक र उत्साहित हुन्छन् कि यो तालको सुन्दरताको बयान गर्न उनीहरुसँग शब्द नै हुँदैन ।

खोटाङका राई खासमा तिलिचो ताल हेर्ने र यहीँ ध्यान गर्ने गरी आएका हुन् । उनी रातको समयमा एक्लै पाल टाँगेर बसेका छन् र रातदिन ध्यान गरिरहेका छन् । ताल छेउ बसेर ध्यान गर्दा आफूलाई निकै ऊर्जा मिलेको उनको भनाइ छ । चारदिनसम्म अन्न नै मुखमा नहाली तीन बोत्तल मिनरल वाटर र आधा किलो काजु, पेस्ता र किसमिस खाएर ध्यान गरिरहेको र दिन प्रतिदिन ऊर्जा मिलेको उनी बताउँछन् ।

दाङ जिल्लाबाट गएका हामी केही पर्यटकलाई राईले आफ्नो अनुभव सुनाइरहँदा तालको पूर्वपट्टि कुनामा एक महिलाको ठूलो आवाज आयो । यसो हेर्दा लाग्थ्यो उनी निकै नै भावुक बनिन् । उनी शुरुमा त तालमा पुगेपछि त्यहाँ रहेका नेपाली पर्यटकहरुसँगै खुशीले अङ्कमाल गरिन्, आँशु झारिन् र भनिन् – “नेपाल देश र यहाँका नागरिक कति भाग्यमानी रहेछन् !” यस्तो अद्वितीय प्राकृतिक मनोरम उपहार दिने भगवान्लाई पनि उनले धेरै पटक धन्यवाद दिइन् ।

उनले यो सुन्दरतालाई बचाइराख्न आमनेपालीलाई आग्रह पनि गरिन् । उनी भन्दै थिइन् – यहाँसम्म आउन निकै मेहनत गर्नुपर्ने रहेछ तर, यहाँ आइपुगेपछि त सबै थकान नै मेटिन्छ । उनको यो खुशी देखेर तिलिचो ताल अवलोकन गर्न तनहुँबाट पुगेका ४३ वर्षीय तेज पन्तले भने – “तिलिचो तालले नेपाललाई विश्वमा चिनाएको छ । यो हाम्रो अद्वितीय सम्पत्ति हो । यसको संरक्षण र सम्बद्र्धनका लागि हामी सबै लाग्नुपर्छ ।”

मनाङ जिल्लाको साविकको खाङसार गाविस वडा नं ९ र हाल निस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने सो ताल समुद्री सतहबाट ४ हजार ९१९ मिटर अग्लो स्थान अवस्थित छ । यसको लम्बाइ ३।९ किलोमिटर र चौडाइ १।६ किलोमिटर छ । यो ८५ मिटर गहिरो छ । यो विश्वकै सबैभन्दा अग्लो स्थानमा पर्ने ताल ४।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस ताल वरपर सेतै टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज, जुलु पिक, नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्