तीन सय हेक्टर जमिनमा एक हजार किसानद्वारा माछा खेती संचालनमा



११ जेठ २०७६, इटहरी

माछापालक किसानलाई थप प्रोत्साहित गर्नुपर्ने मोरङको कटहरीमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मत्स्य जोन समितिले आयोजना गरेको मोरङ जिल्लामा माछा उत्पादन विषयक अन्तरक्रियामा सहभागी किसानले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् ।

माछापालनको क्रममा किसानले झेल्नुपरेका चुनौतीहरुलाई न्यूनिकरण गर्न सरोकारवालाले बिशेष ध्यान दिनुपर्ने समेत बताएका छन् । उनीहरुले माछाका लागि पोशिलो आहारा सहज र सुलभ मूल्यमा उपलब्ध गराउनुपर्ने, उचित बजार मुल्य निर्धारण गर्नुपर्ने र किसानलाई प्राविधिक ज्ञान, तालिम आदिमा जोड दिनुपर्ने बताएका छन् ।

माछा किसानहरुले माछा जोन भित्र माछाको मूल्यमा एक रुपता कायम हुनपर्ने, माछामा लाग्ने रोग उपचार व्यवस्था हुनुपर्ने, अक्सिजनको कमी न्यूनिकरणका लागि एरिटेयटर, कम्पे्रसर मेशिन आदिमा दिइने अनुदानमा वृद्धि गर्नुपर्ने बिषयमा समेत जोड दिएका छन् । जोन सञ्चालक समितिका अध्यक्ष गणेश उपे्रेतीले आधुनिक कृषि प्रणालीको उपयोग गरी माछा खेतीलाई उद्योगको रुपमा विकास गर्दै जानुपर्ने बताए । मोरङको कटहरी, धनपालथान गाँउपालिका र रंगेली नगरपालिकामा माछा जोन अन्तर्गत  नयाँ र पुरानो गरी तीन सय हेक्टर जमिनमा एक हजार किसानहरुले माछा खेती गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्