नेशनल यूनाईटेड स्कूलमा चुनाव सम्पन्न



०४ जेष्ठ २०७६, काठमाडौैं

गणेशचोकस्थित नेशनल यूनाईटेड हाइ स्कूलका विद्यार्थीहरूले विद्यालयमा आयोजित चुनावमा भाग लिई स्कूल क्याप्टेन, भाइस क्याप्टेन र हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेनहरू छनौट गरेका छन् ।

विद्यार्थीहरूलाई प्रजातान्त्रिक विधिका बारेमा जानकारी गराउनका लागि विद्यालयले चुनावको आयोजना गरेको थियो ।

कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूले चुनावमा आफूलाई उपयुक्त लागेका उम्मेदवारहरूलाई भोट दिएका थिए ।

चुनाव अघि नै उम्मेदवारको नाम दर्ताको लागि निश्चित दर्ता शुल्कको मापदण्ड समेत निर्धारण गरी उम्मेदवारी माग गरिनुका साथै अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो भने उम्मेदवारहरुले कार्यपत्रसमेत निर्वाचन समितिमा बुझाएका थिए ।

विभिन्न १० पदका लागि ३४ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । ३ कक्षाका छात्र सम्बन्ध पौडेलले लामबद्घ भएर भोट खसाल्दा निकै रमाइलो र नयाँ अनुभव गरेको कुरा बताए ।

मतदान प्रक्रिया चुस्त र छिटोछरितो बनाउनको लागि मतदान अधिकृत तोकिनुका साथै शिक्षक कर्मचारी तथा स्वयंसेवकलाई परिचालन गरिएको थियो ।

त्यसैगरी मतदाताहरूलाई पङ्क्तिबद्ध बनाएर मत खसाल्ने वातावरण तय गरिएको थियो ।

उक्त चुनावमा आफूलाई उचित लागेका उम्मेदवारलाई गोप्य ठाउ“मा गई स्वस्तिक चिह्नले छाप लगाएर विद्यार्थीहरूले मतपेटिकामा क्रमशः मतपत्र खसालेका थिए ।

मतदाता नामावलीमा नाम हेर्दै निर्वाचनमा खटिएका शिक्षकहरूले भोट खसाल्नुअघि मतदाताको दायाँ बूढी औंलाको नङमा संकेतार्थ मसी दलेका थिए ।

५८६ जना मतदाता रहेको उक्त चुनावमा ५५४ वटा मत खसेका थिए । तीमध्ये १४ वटा मत बदर भएका थिए । कुल खसेको मतलाई ५० मानेर ५० मत विद्यालय प्रशासनको तर्फबाट उम्मेदवारको सक्रियता र कार्यपत्रको मुल्याङ्कन गरी प्रदान गरिएको निर्वाचनमा घोषित मत परिणाम अनुसार कक्षा १० की छात्रा गरिमा के.सी.ले समग्रमा ५२६ मत ल्याई स्कूल क्याप्टेनमा विजयी हुन सफल भइन् भने ४४१ मत ल्याई कक्षा १० कै छात्र मनिल धिङ्गाल भाइस क्याप्टेनमा विजयी भए ।

यसैगरी ब्लु हाउसको क्याप्टेनमा सागरिका पौडेल र भाइस क्याप्टेनमा अनिमेष थापा चुनिए । ग्रिन हाउसको क्याप्टेनमा आशिष पौडेल र भाइस क्याप्टेनमा सगुन थापा मगर चुनिए । रेड हाउसको क्याप्टेनमा निसिता खड्का र भाइस क्याप्टेनमा सौगात लामा चयन भए । यल्लो हाउसको क्याप्टेनमा दिनम खड्का र भाइस क्याप्टेनमा सलिना कार्की चुनिए ।

निर्वाचन सम्पन्न भएपश्चात् निर्वाचन समिति र विभिन्न पदका उम्मेदवारका प्रतितिधिहरूको रोहबरमा मतगणना कार्य गरिएको थियो ।

मतगणनाको नतिजा सार्वजनिक गरिसकेपछि विजयी हुन सफल विभिन्न पदका विजयी उम्मेदवारहरूलाई निर्वाचन आयुक्त एवं विद्यालयका संस्थापक श्री जेबी हमालले सफल कार्यकालको शुभकामना दिनुहुँदै विशेष कार्यक्रमका बिच विजयी उम्मेदवारहरुलाई प्रमाण पत्र वितरण गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्