‘बजेट केन्द्रमै नीहित गरियो’



२८ बैशाख २०७६, काठमाडौं

प्रदेश नं २ का आर्थिक मामिला एवं योजनामन्त्री विजयकुमार यादवले केन्द्रीय सरकार सम्पूर्ण बजेट केन्द्रमा नै नीहित गरेको बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डद्वारा यहाँ आज आयोजित आर्थिक तथा धितोपत्र बजारसम्बन्धी अन्तक्र्रियामा मन्त्री यादवले केन्द्रीय सरकारले ८५ प्रतिशत बजेट केन्द्रमा र बाँकी १५ प्रतिशतमा सातै प्रदेशलाई दिइ सङ्घीयतालाई औचित्यहीन सावित गर्ने प्रयास गरेको छ भन्नुभयो ।

उहाँले अर्थतन्त्रको स्थितिलाई मापन गर्ने आर्थिक ऐनाका रूपमा पूँजी बजार भएकाले लगानीयोग्य बचतको कमीले देखिएको तरलता सङ्कटलाई समाधान गर्न उन्मुख हुनुपर्ने खाँचो औँल्याउनुभयो । प्रदेशसभा सदस्य रामअशीष यादवले प्रदेशको आर्थिक समृद्धिका लागि कर्पाेरेट टयाक्स प्रदेश सरकारलाई उपलब्ध गराउनु जरूरी छ भन्नुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शैलैन्द्र्र झाले जनकपुरधामलाई वित्तीय राजधानीका रूपमा प्रवद्र्धनमूलक पूँजी बजारको व्यवस्थामा जोड दिँदै लघु वित्तीय पूँजी अहिले पनि केन्द्रीकृत रहेको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक पर्शुराम पौडेलले पूँजीबजार सुरक्षितका लागि लगानीकर्ताले विवेकशील भई लगानी गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यले धितोपत्र बजारलाई समावेशीकरण गर्दै सानाले पनि लगानी गर्न सक्ने वातावरण र व्यवस्थापनमा जोड दिनुभयो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले बोर्डले लगानीकर्ताको हित, पूँजी बजारको विकास र नियमन गरी रहेको जानकारी गराउँदै आर्थिक विकासका लागि पूँजीबजारलाई प्रोत्साहन गरी यसको स्थायित्व विकास र विस्तारमा सबैको सहयोगको आवश्यकता रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्