धनगढीमा राष्ट्रिय संगीत महोत्सव हुने



२० बैशाख २०७६, काठमाडौं

सुदूरपश्चिमको धनगढीमा ‘राष्ट्रिय संगीत महोत्सव–२०७६’ आयोजना हुने भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सुपा इन्टरटेन्टमेन्ट प्रा.लि. धनगढीको सहआयोजनामा आउँदो जेठ १९ र २० गते आयोजना हुने उक्त महोत्सवमा सुदूर पश्चिमका सबै जिल्लाका साथै सात वटै प्रदेशका प्रतिनिधि कलाकारहरूको सहभागिता रहने संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, संगीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले बताए ।

संयोजक प्राज्ञ राईका अनुसार प्रदेश सरकार र स्थानीय सरकारसमेतको संलग्नता रहने उक्त महोत्सव तयारीका लागि हालै धनगढीमा सम्पन्न सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको बैठकले भुवन रिजालको संयोजकत्वमा स्थानीय आयोजक समिति र विभिन्न ८ वटा उपसमिति गठन गरेको छ ।

बैठकमा प्राज्ञ राई, जनसम्पर्क संयोजक प्रेमनाथ अधिकारी, साहित्यकार पुष्कर भट्ट र सुपा इन्टरटेन्टमेन्टका अध्यक्ष अनुप चन्दलगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानले संगीत साधना प्रतिष्ठानसँगको सहकार्यमा वैशाख २७ र २८ गते प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बृहत् बहुभाषिक संगीत महोत्सव गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्