साताको शेयर बजारमा चार अर्बको कारोवार



१४ पुष २०७५, काठमाडौँ

धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ ।

पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर कारोवार भएको छ ।

कूल पाँच दिन खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ । कारोवार हुने पहिलो दिन आइतबार बजार ३२ दशमलव २४ बिन्दुले बढेको थियो । कारोवार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह देखिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार उक्त दिन रु ८८ करोड २१ लाख बराबरको कारोवार भएको थियो । साताभर बजार भने उतार चढावपूर्ण रह्यो । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार सोमबार भने छ दशमलव ४५ अङ्कले घट्यो ।

सो दिन कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा झर्यो । स्टकका अनुसार सोमबार कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार पनि धितोपत्र बजारमा शेयरको मूल्य ओरालो लाग्यो । कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा झर्यो । सो दिन कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने बजारमा उच्च अङ्कको वृद्धि देखियो । कारोवार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ बिन्दुमा पुग्यो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ बिन्दुमा पुग्यो ।

स्टकका अनुसार कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर रु ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भए । बिहिबार भने नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भयो । सो दिन कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर रु एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भए ।

प्रतिक्रिया दिनुहोस्