उपत्यकाबाट ३० मेट्रिक टन फोहर व्यवस्थापन



०१ मङि्सर २०७५,काठमाडौँ/पूर्णप्रसाद मिश्र

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८८ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा नायिका एवं वाग्मती सद्भावना दूत मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियोे ।

यो हप्ता जन्मदिन परेका अभियानकर्मी प्रमिला पौडेल, बुद्धि कट्टृेल र ओम बस्नेतले समी एवं कपूरका बिरुवा नदी किनारमा रोप्नुभयो । आलोकनगर सफाइ अभियानले ८४ औँ हप्ताको सफाइ बुद्धनगर क्षेत्रमै गरेको थियो । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४९ औँ हप्ताको सफाइ पनि गुह्यश्वरी क्षेत्रमै ग¥यो । तिलगङ्गा महिला समूहले १९० औँ हप्ताको सफाइ पनि गुह्येश्वरी क्षेत्रमै गरेको थियो ।

छठ पर्वका अवसरमा गुह्येश्वरीबाट गौरीघाटसम्म छठीघाट निर्माण गर्दा भएको फोहर सफाइका क्रममा व्यवस्थापन गरिसकिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । कात्तिक २८ गतेदेखि शुरु गरिएको घाट सफाइ आज सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो । कुहिने फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिकाको– ८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी पुडासैनीले सुनाउनुभयो ।

रुद्रमती सफाइको २४३ औँ हप्तामा रातोपुल–कालोपुल–सिफल हुँदै गौशालासम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताउनुभयो ।

सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, रुद्रमती सरोकार समाज, प्रसिद्धि कला समूहलगायत संस्थासहित स्थानीयवासीको सहभागिता थियो । विष्णुमती सफाइ अभियानको २१५ औँ हप्तामा कालिमाटी पुलमुनिको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

महानगरपालिका–१३ मा क्रियाशील भीमेश्वर महिला समूहको सफाइमा सक्रियता थियो । नदी किनारमा ट्याक्टरमा कपास ल्याई सिरक, डस्ना बनाउनेयन्त्र सहितका मानिसलाई सम्झाएर अब फोहर नगर्न प्रतिबद्ध बनाइएको अभियानकर्मी बीजेन्द्र लामाले जानकारी दिनुभयो ।

पानीपुरी बेचेर नदीमा फोहर गर्नेले पनि अब सफा गर्छु भनी बाचा गरेका छन् । सफाइमा विद्यार्थीसहित २०० जना भन्दा बढीको सक्रियता थियो । सुन्दरीघाट क्षेत्रको वाग्मती सफाइको ९८ औँ हप्तामा १०० जना स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।

मनोहरा सफाइको ८८ औँ हप्तामा महानगरपालिका– ३२ नं वडास्थित हनुमन्ते र मनोहरा दोभानको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

चक्रपथ सफाइको ८४ औँ हप्तामा नयाँ बसपार्क माछापोखरी क्षेत्रमा सफाइ गरियो ।  तीनवटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी ३५० भन्दा बढीले गरेको सफाइबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी तिलक बस्नेतले जानकारी दिनुभयो ।

चक्रपथ बाफल खण्डको ६६ औँ हप्तामा सीतापाइलाबाट स्युचाटारपुलसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

सफाइमा स्कटल्याण्डबाट आउनुभएका गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष भोला खनालसहित अभियानकर्मीको सक्रियता थियो । सफाइमा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय मीनभवनबाट बु्रमर ल्याई यस क्षेत्रमा जम्मा भएको धुलो उठाएर व्यवस्थापन गरियो ।

विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्