दमौली अस्पतालको स्तरोन्नति आवश्यक



०१ मङि्सर २०७५,  दमौली

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिमा जोड दिइएको छ । अस्पताल व्यवस्थापन समितिले आज दमौलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अस्पतालको स्तरोन्नति हुनुपर्नेमा जनप्रतिनिधि एवं सरोकारवालाको जोड रहेको छ ।

हाल १५ श्ययामा सञ्चालित अस्पताललाई ५० श्ययाको रुपमा विकास गर्नुपर्ने उहाँहरुको भनाइ छ । अस्पतालको स्तरोन्नतिका लागि जग्गाको व्यवस्थापन कठिन विषय रहेकोले जग्गाको व्यवस्थापनका निम्ति सबै एकमत भएर लाग्नुपर्ने उहाँहरुले बताउनुभयो ।

तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जग्गाको व्यवस्था भए अस्पतालको स्तरोन्नतिमा समस्या नरहेकाले जग्गाको व्यवस्थापनका लागि सबै एकमत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले दमौली अस्पतालसँगै रहेको कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको खाली जग्गा र प्रहरी उपरीक्षक निवासको जग्गालाई अस्पतालको स्तरोन्नतिका लागि प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले लामो समयदेखि अस्पतालको स्तरोन्नतिका विषयमा कुरा चल्दै आएपनि ठोस काम हुन नसकेको भन्दै अब यसलाई निष्कर्षमा पु¥याउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अस्पतालको लागि आवश्यक जग्गाको व्यवस्थापनका लागि जनप्रतिनिधि, राजनीतिक दल एवं सबै सरोकारवाला एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक र सरिता गुरुङले अस्पतालको स्तरोन्नतिका लागि आफूहरुले आफ्नो ठाउँबाट पहल गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालको जग्गा दमौली अस्पताललाई दिनुपर्ने बताउनुभयो ।

पन्ध्र श्ययाको अस्पताललाई ५० श्ययाको बनाउन ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । हाल दमौली अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तनहुँको साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधा सम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालको स्तरोन्नतिका लागि थप ३५ रोपनी जग्गा आवश्यक छ । यसको लागि यहाँका सबै सरोकारवालाको साथ र सहयोग आवश्यक पर्दछ ।” दैनिक एक सय भन्दा बढी बिरामी स्वास्थ्य उपचारका लागि आउने दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा समेत विकास गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । ‘‘पृथ्वीराजमार्ग तनहुँ जिल्लाभित्र पर्दछ, यहाँ दैनिकजसो दुर्घटना हुने गरेका छन्,’’ उहाँले भन्नुभयो, “त्यसका लागि अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।”

हाल दमौली अस्पतालमा सरकारी दरबन्दीमा तीन डाक्टरमध्ये एक जना मेडिकल सुपरिटेण्डेट र करारमा समेत गरी आठ डाक्टरले सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा सुनिल पौडेलले अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुने जानकारी दिनुभयो । साथै १० जना स्टाफ नर्सको दरबन्दी समेत थपिन्छ ।

दमौली अस्पतालमा सरकारीतर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । १५ श्ययाको अस्पताल भए पनि समितिले ३७ वटा श्ययामा सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेको छ । डा पौडेलका अनुसार डायलोसिस केन्द्रमा आठ, आकास्मिक कक्षमा छ जना, बिरामी भर्ना गर्न १६ र प्रसूतिमा सात श्यया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्