व्यक्तिगत लगानीमा पूर्वाधार निर्माण



०१ मङि्सर २०७५, गलेश्वर

म्याग्दीको एक गाउँपालिकाका अध्यक्षले व्यक्तिगत लगानीमा लाखौँ रुपैयाँ खर्च पुर्वाधार निर्माण गर्नभएको छ ।

रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले पुर्वाधार निर्माणमा व्यक्तिगत रु ४४ लाखको सहयोग गर्नुभएको हो । गाउँपालिकामा निर्वाचित भएपछिको २० महीनाको अवधिमा उहाँले पूर्वाधार निर्माणलगायत विपन्नका लागि  रु ४४ लाख ६० हजार १११ सहयोग गर्नुभएको बताइएको छ ।

उहाँले आफ्नो गाउँपािलकामा झन्डै २० किलोमिटर भन्दा बढीमा सडक निर्माण तथा मर्मत, बालशिक्षा भवन मर्मत, खानेपानी योजना मर्मत, दलित बस्तीमा छुट्टै खानेपानीको व्यवस्था, बिभिन्न वडामा रहेका खेल मैदान निमार्ण, भवन निर्माण तथा अन्य पुर्वाधार निर्माणलगायतमा उक्त रकम लगानी गर्नुभएको बताइएको छ ।

अध्यक्ष भण्डारीले आफ्नो पारिश्रमिकको रकम गरीब र विपन्न बालबालिकाको शिक्षाका लागि अक्षयकोष स्थापना गरिसक्नुभएको छ । रोजगारीको सिलसिलामा १० वर्ष खाडी मुलुकमा काम गरी फर्किनुभएका भण्डारी स्वदेश आएर निमार्ण व्यवसायीको रुपमा काम गर्दै आउनुभएको थियो । उहाँ नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्