असहाय बालबालिकाको अभिभावक बन्दै रेन्बो



१९ कार्तिक २०७५,पोखरा/हरि बाँस्तोला

समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ ।

आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक बनेको हो । स्याङ्जा जिल्लामा कष्टकर जीवन यापन गर्न बाध्य एकै परिवारका तीन जना बालबालिकाबाट २०६२ सालबाट शुरु गरिएको सो बालगृहले हाल समाजका ७७ जना बालबालिकालाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्दै आएको बालगृहका सञ्चालक गोमा ढकालले बताउनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा सञ्चालित बालगृहमा ४० बालबालिका आवासीय रुपमा रहेको र ३७ जनालाई परिवारसँगै राखेर पठनपाठनमा सहयोग गर्दै आएको छ ।

संस्था सञ्चालनको पहिलो अवस्थामा निकै कठिनाइ आएको भए पनि पछिल्लो समय सबै क्षेत्रको उल्लेख्य सहयोगले असहाय बालबालिकाको क्षेत्रमा लाग्न आफूलाई थप प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

समाजका असहाय बालबालिकालाई एउटै छानामुनि आधारभूत शिक्षा, स्वास्थ्यलगायतका विभिन्न आवश्यकतासहित मातृत्व स्नेह प्रदान गरेको सो बालगृह पछिल्लो समय सबैका लागि अनुकरणीय एवं समाजप्रति उत्तरदायी बनेको हो ।

आफूले जन्माएका सन्तानको समेत ध्यान पु¥याउन नसकेको हाम्रो समाजमा  विभिन्न क्षेत्र, वर्ग र संस्कारबाट आएका ७५ जना बालबालिकाको अभिभावक बन्न पाउँदा आफूलाई गर्व लागेको सञ्चालक ढकालको धारणा छ ।

बालगृहमा हाल कास्की, तनहुँ, गोरखा, सोलुखुम्वु, सिन्धुुपाल्चोक, कालीकोट, दाङलगायत विभिन्न जिल्लाका बालबालिका आबद्ध रहेको बालगृह सञ्चालनमा स्वदेशी तथा विदेशी दाताको आर्थिक सहयोगबाट निरन्तरता पाएको सञ्चालक ढकालले जानकारी दिनुभयो ।

बालगृह सञ्चालक समितिका अध्यक्ष राजेन्द्र थापाका अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा पालनपोषणमा वार्षिक रु ९० लाखभन्दा बढी खर्च हुने गरेको छ ।

उहाँका अनुसार जर्मनको भिपी फाउण्डेशनलगायत अष्ट्रेलिया, अमेरिका, फ्रान्स, इटालीलगायतका विभिन्न देशका व्यक्तिको बालगृहलाई सहयोग रहँदै आएको छ । संस्थामा जम्मा कूल रकमको पाँच प्रतिशत रकम सङ्कलन गरेर पोखरा २४ स्थित पामेमा बालगृहले खरीद गरेको लगभग छ रोपनी जग्गामा रेन्बो कृषि फर्म सञ्चालन गर्ने योजना रहेको बालगृह सञ्चालक समितिका सचिव इन्दिरा लामिछानेले जानकारी दिनुभयो ।

“बागगृहमा आबद्ध बालबालिकालाई कृषि व्यवसायमा आकर्षण गरी स्वरोजगार सिर्जना गर्ने संस्थाको लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । उक्त जग्गामा हाल धान रोप्नुको साथै ताजा तरकारीसमेत उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

समाजका बेसहारा बालबालिकाको अभिभाकत्व ग्रहण गरेर राज्यको जिम्मेवारीभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्दै जनस्तरबाट सञ्चालित संस्थाको निरन्तरताको लागि मूल्याङ्कनको आधारमा सरकारीस्तरबाट समेत उचित सहयोग हुनु अपरिहार्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्