साबुन उद्योग सञ्चालन



१९ कार्तिक २०७५, मुसिकोट

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ ।

स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताउनुभयो । पहिलो चरणमा करीब दुई हजार साबुन उत्पादन गरिएको छ । उत्पादित साबुन बिक्रीको तयारी भइरहेको छ ।

प्रति गोटा मूल्य रु ५० कायम गरिएको सो साबुनको नाम ‘चिउरी हर्वल साबुन’ राखिएको छ । साबुन उत्पादनका लागि स्थानीयवासी प्रेमवीर कामी, जयमती कामी, वीरबहादुर कामी, नवीना कामी र रत्ने कामीले रु १५ लाख लगानी गर्नुभएको छ ।  उद्योगबाट उत्पादित साबुन जिल्लाको विभिन्न बजार तथा छिमेकी जिल्ला जाजरकोट, डोल्पा र सल्यान पठाउने योजना रहेको कम्पनीका निर्देशक प्रेमवीर कामीले बताउनुभयो ।

उद्योगबाट हाल नुहाउने साबुन मात्रै उत्पादन भइरहेको छ । आगामी दिनमा कपडा धुने साबुन उत्पादन गर्ने लक्ष्य छ । साबुन उत्पादन गर्न चिउरीको बिजूला स्थानीयवासीले सङ्कलन गर्दछन् । उद्योग प्रवद्र्धन गर्न सहयोग गर्ने आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्