द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राज्यले उचित व्यवस्था गर्नुपर्ने पीडितको माग



०२ असार २०७५, काठमाडौँ

बेपत्ताहरुको उच्च सम्मान माग गर्दै शहिद र बेपत्ता स्मृति प्रतिष्ठान नेपालले अन्तरक्रिया कार्यक्रम कपनमा सम्पन्न गरेको छ ।

तत्कालीन राज्यद्वारा आजकै दिन बेपत्ता पारिएका विपिन भण्डारी(क. शुसिल) र दिलबहादुर राई (क. प्रविण) लगायत सम्पूर्ण बेपत्ता योद्वाहरुको योगदानको उचित सम्मान राज्यको दायित्व भएको माग सहित कार्यक्रमको आयोजना गरिएको थियो ।

सहिद र बेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संघीय मामिला मन्त्री शेरबहादुर तमाङ्ग, विशेष अतिथि खानेपानी मन्त्री विनु मगर, अतिथिहरु परराष्ट्रविद् डा. राजन भट्टराई, सांसद कृष्ण राई, बेपत्ता परिवार समाजका पूर्व अध्यक्ष एकराज भण्डारी, शहिद परिवारका सदस्यहरु लगायत विभिन्न विशिष्ट व्यक्ति तथा समाजसेवीहरुको उपस्थित रहेकोे थियो ।

महान् योद्धाहरुलाई जन्मदिने आमाहरुलाई सलाम व्यक्त गर्दै बेपत्ता परिवारले के पाउँनु पर्छ, उनीहरुका पीडालाई कसरी मलम लगाउने भन्ने विषयमा छलफल गरी सरकारले उचित व्यवस्था गर्ने प्रतिवद्धता प्रमुख अतिथि मन्त्री तमाङ्गले गरे ।

कञ्चनपुरबाट काठमाडौँ आएपछि विपिन भण्डारी र दिलबहादुर राईले नेतृत्व गर्न सिकाएको सम्झिदै उनीहरुको सम्मान र परिवारको उचित व्यवस्थापन गर्न सक्दो प्रयास गर्ने खानेपानी मन्त्री मगरको प्रतिवद्धता थियो ।

बेपत्ता परिवारका सदस्यहरुसँग जोडिएका विषयहरु प्रकृया पुर्याएर सरकारले छिटो भन्दा छिटो निष्कर्षमा पुर्याउन आवश्यक रहेको परराष्ट्रविद् डा. भट्टराईले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्