
०१ असार २०७५, काठमाडौं
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यति बेला बर्खा लागेसँगै पानी चुहिएर बिजोग हुन थालेको छ। बर्खायामको सुरुवातसँगै परेको वर्षाले विमानस्थलको प्रतीक्षा कक्षमा पानी चुहिदा यात्रुलाई सास्ती भएको छ।
त्रिभुवन विमानस्थल काठमाडौं अन्तर्गत आन्तरिक उड्डयनको यात्रु प्रतीक्षा कक्ष (Waiting Room) मा पानी पर्ने बित्तिकै सबैतिर चुहिन थाल्छ । आन्तरिक उड्डयन यात्रु प्रतीक्षा कक्षमा नियमित मर्मत सम्भार नहुँदा यतिबेला आफ्नो गन्तब्यमा जानको निम्ति जहाज कुरेर प्रतीक्षा कक्षमा बस्ने आन्तरिक यात्रुहरुले बाहिर वर्षा हुँदा कोठा भित्र छाता ओढ्न बाध्य हुनु परेको छ ।
त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान गर्ने धेरै यात्रुहरुको यस्तो गुनासो आईरहदा केहि दिन अगाडी मात्र आन्तरिक उडानको निम्ति विमानस्थल पुगेका भोजपुरबाट विजयी संघीय सांसद सुदन किराँतीले पनि यो समस्य भोग्नु परेको गुनासो गरेका छन् ।
हामीसँगको कुराकानिमा सांसद किराती भन्छन्,’अस्ति जेष्ठ २७ गते बिहान आन्तरिक उडान मार्फत मेरो काठमाडौं बाहिर जाने कार्यक्रम थियो । सोहि कार्यक्रम अन्तर्गत विमानस्थल पुग्दा बाहिर वर्षा भइरहेको थियो । सबै चेकजाँच सकेर प्रतीक्षा कक्षमा प्रबेश गरे तर त्यहाँ भित्रको दृश्य देख्दा आफैलाई ग्लानी भयो, सरम लाग्यो । प्रतीक्षा कक्षमा जताततै पानी चुहिरहेको, चुहिएको ठाउँमा बाल्टिनहरु थापिएको थियो । आफू उपत्यका बाहिर रहेकोले तत्काल यो कुरा संसदमा उठाउन सकिन तर म पनि एक पिडित हु ।’
विमानस्थल व्यवस्थापन समितिको लापरबाही हो या नेपाल सरकार अन्तर्गत नागरिक उड्डयन मन्त्रालयको कमजोरी हो जे भए पनि यसमा सरकारको ध्यान केन्द्रित होस्, नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको नजर पुगोस् । सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण होस् ।





