गणतन्त्र दिवसको अवसरमा बालकृष्ण ढुंगेल जेलमुक्त हुँदै



०७ जेठ २०७५, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जेल चलान गरिएका नेता बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसर पारेर बाँकी सजाय मिनाह हुने गरी छाड्न लागिएको कारागार व्यवस्था विभागका एक अधिकारीले बताए ।

हाल डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सर्वाेच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । असल चालचलनको आधारमा कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि कैदीलाई छाड्न सक्ने प्रावधान रहेको र  सोही प्रावधान अनुसार उनलाई गणतन्त्र दिवसका दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो ।

नेपालको कानुन अनुसार जन्मकैद सजाय भनेको अधिकतम २० वर्ष हुन्छ । ढुंगेल द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेका थिए । कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकेको छ । २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ । असल चालचलन भएको कैदीको प्रावधान लागू गरी उनलाई बाँकी कैद मिनाहा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्