एउटै टेबुलमा दुईवटा कुर्सी राखी ओली र प्रचण्डले गरे पदभार ग्रहण



०६ जेठ २०७५, काठमाडौँ

नवगठित नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा पुगेर पदभार ग्रहण गरेका छन् । अपरान्ह साढे चार बजेतिर अध्यक्षद्वयले धुम्बाराही पुगेर पदभार ग्रहण गरेका  थिए । एउटै टेबलमा दुईवटा कुर्सी राखेर उनीहरुले पदभार ग्रहण गरेका छन् ।

बेलुकी ४ बजेतिर मुख्यालय धुम्बाराही आएका अध्यक्षद्वयलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले स्वागत गरेका थियो । मुख्यालयमा रहेको अध्यक्षको कार्यकक्षामा एउटै टेबुलमा दुईवटा कुर्सी राखिएको थियो । देब्रे पट्टीको कुर्सीमा ओली र दाहिने पट्टीको कुर्सीमा दाहाल बसेका थिए। अध्यक्षद्वयसँग सचिवालयका नेताहरु पनि धुम्बाराही पुगेका थिए ।

पदभार ग्रहणपछि अध्यक्षद्वयले केही निर्णयमा हस्ताक्षर गरेर केही समय कुराकानी समेत गरेका थिए । कुराकानीपछि दुवैजना सङ्गसङ्गै पहिला तत्कालीन नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडा पुगेका थिए ।

नेकपाले तत्कालीन एमाले मुख्यालय धुम्बाराहीलाई नेकपाको मुख्यालय बनाएका छन् भने तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडालाई संगठनात्मक गतिविधि गर्ने सम्पर्क कार्यालय बनाएका छन ।

प्रतिक्रिया दिनुहोस्