नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्ने



०१ जेठ २०७५, काठमाडौं

बुधबारबाट  नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको नागरिक बचतपत्रको बिक्री खुल्ला गर्ने भएको छ । पाँच बर्षे अवधिको नागरिक बचतपत्र २०८० को बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाली नागरिकको खरिद गर्न सक्ने उक्त बचतपत्रका लागि यही जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ । निष्काशन मिती २०७५ जेठ २८ गते र सावाँ भुक्तानी मिती २०८० जेठ २८ गते तोकिएको बचतपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी दिईने छ ।

राष्ट्र बैंकका अनुसार बार्षिक ९ प्रतिशत व्याजदर कायम गरिेएको यो बचतपत्र घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर खरिद गर्न सकिने छ ।

बचतपत्र धितो राखेर राष्ट्र बैंक बाहेकका बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुबाट कर्जा समेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्