
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेसँगै स्थानीय हर्षित
३१ वैशाख २०७५, काठमाडौं
संखुवासभा — अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावित क्षेत्र नुमका दुर्गाबहादुर पराजुली अब परियोजना निर्माण हुनेमा ढुक्क छन् । शुक्रबार साँझ प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले एकैसाथ परियोजना शिलान्यास गरेपछि स्थानीयमा खुसी छाएको छ । ओली र मोदीले एकसाथ राजधानीमा स्विच थिचेर शिलान्यास गरेको भिडियो नुमको फ्याक्सिन्दा ड्यामसाइटमा प्रत्यक्ष प्रसारण गरिएको थियो । निर्माण कम्पनी सतलजले दुवैतर्फबाट गरिएको कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न मिल्ने व्यवस्था मिलाएको थियो ।
शिलान्यासपछि प्रतिक्रिया दिँदै पराजुलीले अब रोजगारीका लागि अरूको देश जान नपर्ने बताए । ‘रोजगारीको व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘पहिलो प्राथमिकता प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्छ, सानातिना कामको ठेक्का पनि स्थानीयले पाउनुपर्छ ।’
भारतीय सतलज कम्पनीका सीईओ सतिशकुमार शर्माले सन् २०२२ मा बिजुली उत्पादन गरिछाड्ने प्रतिबद्धता जनाए । उनले आयोजना कसरी सुरु हुन्छ र सन् २०२२ सम्ममा के–के काम हुन्छ भन्ने विषयमा जानकारी दिए । ‘हाम्रो लक्ष्य सन् २०२२ मा बिजुली बाल्ने हो,’ उनले भने, ‘जसरी पनि काम सम्पन्न गरेर बिजुली निकाल्छौं ।’ यहाँ ९ सय मेगावाट बिजुली उत्पादन हुने र नेपालमा खपत भएर बाँकी रहेको बिजुली मात्रै भारत लैजाने उनले खुलासा गरे ।
शर्माले अरुण तेस्रो निर्माणमा कोशी सडक बाधक भएको बताए । ‘सडकका कारण उपकरण ल्याउन सकिरहेका छैनौं,’ उनले भने, ‘तेह्रथुमको वसन्तपुरबाट संखुवासभा आउने सडक खराब छ । ठूला उपकरण ल्याउन सकिरहेका छैनौं ।’
निर्माण सामाग्री लिएर आएको ट्रक वसन्तपुर मुढे सडकको बीचमा पटक-पटक दुर्घटना भएकाले उक्त खण्ड चाँडो स्तरोन्नति गरिदिन उनले सरकारसँग आग्रह गरे । उनले निर्माणाधीन छ्याङकुटी–पुखुवा सडकमा पनि सोचेअनुसार काम नभएको बताए । यहाँबाट संखुवासभा, भोजपुर र खोटाङ हुँदै ट्रान्समिसन लाइन लगिनेछ । उनका अनुसार ट्रान्समिसन लाइनमा ५ सय १ वटा टावर निर्माण हुनेछन् । तुम्लिङटारस्थित नेपाल विद्युत् प्राधिकरणको जग्गा आयोजनाका लागि हस्तान्तरण भइसकेको छ । शर्माले आयोजनालाई सुरक्षा चुनौती पनि रहेको बताए । पावरहाउस स्थलको भवनमा तीनपटक कुकरबम विस्फोट भएपछि चुनौती थपिएको उनको भनाइ थियो । ‘पटकपटक बम विस्फोट भएका छन्,’ उनले भने, ‘सामानको र व्यक्तिगत सुरक्षा पनि चाहिन्छ ।’ प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले वसन्तपुर–चैनपुर खण्डको सडक स्तरोन्नति पहिलो प्राथमिकता भएको बताए । ‘यो सडक सबै मिलेर राम्रो बनाउँछौं,’ उनले भने, ‘चिन्ता नलिए हुन्छ, अब तीव्र गतिमा सडकको काम हुन्छ ।’
पूर्वसांसद तारामान गुरुङ र दीपक खड्काले पनि निर्माण कम्पनीलाई ढुक्क भएर काम गर्न आग्रह गरे । ‘निर्माण कम्पनीले सुरक्षाको चिन्ता नलिए हुन्छ,’ उनीहरूले भने, ‘ढुक्क भएर काम गर्नुस्, सानातिना अवरोधले यो आयोजना छेकिनेवाला छैन । प्रदेश सांसद पूर्णबहादुर राई, तुलसी न्यौपाने, सरिता खड्का र पदमकुमारी गुरुङले आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबै मिलेर सहयोग गर्ने बताए ।
परियोजनाका लागि जिल्ला प्रशासन कार्यालयले २ सय ५८ परिवारलाई मुआब्जा वितरण गरेको छ । १ अर्ब ९५ करोड २५ लाख ३७ हजार १ सय ५ रुपैयाँ मुआब्जा बाँडिएको हो । ‘प्रभावित क्षेत्रका २ सय ५८ परिवारलाई बैंकमार्फत मुआब्जा वितरण गरिसक्यौं,’ प्रजिअ गणेशबहादुर अधिकारीले भने, ‘११ परिवारलाई ४ करोड ८५ लाख वितरण गर्न बाँकी छ । उनीहरू प्रक्रियामा छन् ।’
मकालु गाउँपालिकामा निर्माण हुने आयोजनाका लागि छ्याङुटीबाट दिदिङको पुखुवा र ड्यामसाइटबाट पावरहाउस जाने लिंकरोड निर्माण भइरहेको छ । आयोजना शिलान्याससँगै जिल्लाको विकास निर्माणमा नयाँ आयाम थपिने विश्वास जिल्लावासीमा देखिएको छ । आयोजनाको ६ प्रतिशत शेयर स्थानीयले पाउनेछन् । आयोजना निर्माणका क्रममा जिल्लाका ६ गाउँ प्रभावित हुनेछन् ।