यस्तो छ जवान चन्दले आईजिपीलाई लेखेको पत्र जस्ले गर्दा आफैं कारवाहीमा परे



२५ वैशाख २०७५ काठमाडौं

नेपाल प्रहरीमा निम्न तहका प्रहरी कर्मचारीले भोग्दै आईरहेका समस्या पस्केर एक जना जवानले आईजीपी सर्वेन्द्र खनाललाई पत्र पठाएका छन ।

कुवेरसिह रानाको पालादेखि मागपत्र पेश गर्दै आएका उनले त्यस यता निरन्तर नयाँ आईजीपीहरुलाई यस्ता माग पठाउँदै गरेको भए पनि सुनवाई नभएको बताएका छन् ।

बैतडी मेलौली नगरपालिका–२ सलेना घर भई वडा प्रहरी कार्यालय धनगढी कैलालीमा कार्यरत रहेका जवान दिपेन्द्र बहादुर चन्दले हुलाकवाट आईजीपीलाई यस्तो पत्र पठाइएका हुन । प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउँने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न माग गर्दै उनले आफ्नो मागपत्र पठाएका थिए ।

स्नातक तहसम्मको अध्ययन गरेको तथा कानुनमा एलएलबी अध्ययरत चन्द बिगत १२ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत रहेकाछन् । उनले आपूm योग्य भए पनि हालसम्म कुनै पनि फाँटमा बस्न नपाएको पीडा उल्लेख गर्दै प्रहरीभित्र आफुजस्ता थुप्रै प्रहरी अन्यायमा परेको पीडा पत्रमा पोखेका छन् ।

हेर्नुस जवान चन्दले आईजीपीलाई लेखेको पत्र जस्ताको त्यस्तै । 

श्रीमान प्रहरी महानिरीक्षक ज्यू,
प्रहरी प्रधान कार्यालय, नक्साल,  काठमाडौं ।

विषय : प्रहरी कर्मचारीहरुले पहुँच भएको आधारमा मात्रै फाँटमा बस्न पाउने कु–प्रथा अन्त्य गर्न र सबैले समान रुपले फाँटमा बस्न पाउने नियम बनाउन आवश्यक पहल गरी पाऊँ भन्ने बारे सुझाव पठाएको ।

महोदय,
सर्वप्रथम, नेपाल प्रहरीको आई.जी.पी. जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा नवनियुक्त आई.जी.पी. महोदयप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । हाम्रा प्रहरी कार्यालयका फाँटमा काम गर्ने प्रहरी कर्मचारीहरुले तुलनात्मक रूपमा फिल्डमा काम गर्ने प्रहरी कर्मचारीहरू भन्दा बढी सहुलियत, फुर्सद, ज्ञान र दक्षता हासिल गर्ने मौका पाउँछन् भन्ने कुरो श्रीमानमा विदित नैं छ । दुस्खको कुरो के छ भने राजनीतिक वा प्रशासनिक पहुच भएको प्रहरी कर्मचारी कम योग्य भए पनि उसले जागिर अवधिभर फाँटमै बसेर आराम र शानसँग जागिर खान्छ तर ऐ। ठाउँमा पहुच नभएको अर्को प्रहरी कर्मचारीले बढी योग्य भए पनि पहुच नभएको कारण फाँटमा कहिल्यै काम गर्न पाउँदैन ! यस किसिमको असमानता र कुप्रथा अन्त्य गर्न सुझाव दिदै यसअघि कुबेरसिंह राना आई.जी.पी. सरको पालादेखि हरेक नवनियुक्त आई.जी.पी. सरहरुलाई निवेदन प्रेषित गर्दै आइरहेकोमा हालसम्म केही भएको छैन तर हजुरको कार्यकालमा त यस विषयमा पक्कै केही पहल गरिनेछ भन्ने आशाले यो सुझावमूलक निवेदन प्रेषित गरेको छु । निम्न तरिकाले यो असमानता अन्त्य गर्न सकिन्छ भन्ने मेरो सुझाव छ

१) ६ महिना फाँटमा काम गरिसकेका प्र.क.हरूलाई फिल्डमा डिउटी खटाउने र ६ महिना फिल्डमा काम गरिसकेका प्र.क.हरुलाई फाँटहरूमा खटाएर सबैलाई समान मौका दिने, अथवा
२)  फाँटमा बस्न इच्छुक प्र.क.हरुले कुनै तोकिएको परीक्षा दिनुपर्ने (खुल्ला प्रतिस्पर्धा गर्नुपर्ने) र परीक्षामा पास भएका दक्ष र योग्य प्रहरी कर्मचारीले मात्र फाँटमा काम गर्न पाउने नियम बनाउनु पर्ने, अथवा
३)  बढी शैक्षिक योग्यता भएको प्र.क.लाई फाँटमा बस्न प्राथमिकता दिने, अथवा
४)  यति मापदण्ड, योग्यता, क्षमता, परीक्षा पूरा गर्न सक्ने व्यक्तिले मात्र फाँटमा बस्न पाउने, भनी प्रहरी नियमावलीमै उल्लेख गराउनु पर्ने ।

माथि उल्लेख गरिए अनुसार कुनै न कुनै मापदण्ड निर्धारण गरी वा नियमावलीमा नियम थप गरी, प्र. क.ले फाँटमा बस्न पाउने व्यवस्था गरिनु न्यायिक दृष्टिकोणले पनि जरूरी छ, किनकि यस्तो व्यवस्था नहुनाले तपसिलमा उल्लेखित योग्यता र क्षमता भएको मैले, मेरो जागिर अवधि १२ वर्ष पुग्न लाग्दा पनि हालसम्म कतै पनि फाँटमा बसी काम गर्ने मौका पाएको छैन १ म एउटा उदाहरण मात्रै हूँ, मजस्ता हजारौं योग्य प्र.क.हरुले राजनीतिक र प्रशासनिक पहुच नभएको कारणले फाँटमा काम गर्ने मौका पाएका छैनन् ।

तपसिल

(क) मैले बी.एड पास गरी माध्यमिक तहको अध्यापन अनुमतिपत्र प्राप्त गरेको, हाल एलएलबी तेस्रो वर्षमा अध्ययनरत रहेको कानूनको विद्यार्थी पनि भएको, जागिर खानु अघि लेखन्दासको काम गरेको र अपराध अनुसन्धान तालिम समेत गरेको हुनाले मुद्दा फाँटको सबै काम उत्कृष्ट ढंगले गर्न सक्ने ।
(ख) मैले जागिर खानु अघि एउटा एनजिओ बाट सञ्चालित स्कुलको लेखापाल पदमा काम गरेको अनुभव र लेखा मूल विषयबाट आई कम पास गरेको हुनाले लेखा फाँटमा पनि काम गर्न सक्ने।
(ग) ६ महिने कम्प्यूटर कोर्स पूरा गर्नुका साथै नेपाली युनिकोडमा पनि राम्ररी टाइप गर्न सक्ने ।
(घ) ३ वटा साहित्यिक कृतिहरू प्रकाशित गरेको चर्चित साहित्यकार पनि भएको ।
(ङ) आध्यात्म, योग, ध्यान, प्रणायाम आदिमा रुचि भएको मानिस भएकाले विभिन्न आध्यात्मिक निकायहरूबाट योगा सिकाउने प्रमाणपत्र, सम्मानपत्र आदि पाएको साधू प्रवृत्तिको मानिस भएको ।
अन्त्यमा, यो निवेदन पेश गर्नुको उद्देश्य मैले मात्रै फाँटमा बस्न पाऊँ भन्ने नभई समग्र रुपले फाँटहरूमा बस्ने र बसाउने प्रणालीमा सुधार होस् र यो सुधार गरे बापत इतिहासले हजुरको गुणगान गरोस् र यो सुधारको यश हजुरको पोल्टामा परोस् भन्ने मेरो हार्दिक कामना पनि छ । जय नेपाल !

निवेदक (सुझाव पेश गर्ने)
वडा प्रहरी कार्यालय धनगढी कैलाली दरबन्दी भई ऐ. कार्यरत रहेको प्रहरी जवान
दिपेन्द्र बहादुर चन्द
मो.नं ९८४८९०२२६६०

प्रतिक्रिया दिनुहोस्