अबको आफ्नो कदम ‘मदिरामुक्त नेपाल’ बनाउनेमा केन्द्रित : गृहमन्त्री थापा



२५  वैशाख २०७५ काठमाडौं

अबको आफ्नो कदम ‘मदिरामुक्त नेपाल’ बनाउनेमा केन्द्रित हुने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । गृहमन्त्री बादलले भ्रष्टाचारको मूल कारकसमेत रहेको मदिरा उन्नत एवं समृद्ध समाजको बाधक हो भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री बादललाई आइतबार गृह मन्त्रालयमा भेट्न पुगेका महिलाहरुको एक समूहले मदिरा नियन्त्रण हुनुपर्ने माग गरेका थिए । गृहमन्त्री थापाले महिला टोलीलाई आश्वस्त पार्दै सिङ्गो देशलाई मदिरामुक्त बनाउन पहल गर्ने बताएका हुन् ।

मन्त्रालयले मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि अभियानको रुपमा लैजाने तयारी  गरिरहेको उनको भनाइ थियो । गृहमन्त्री बादसँग यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करलाई तह लगाउन सफल भएपछि जनताले थप आशा गरेका छन् ।

यसै क्रममा अब आफ्नो पूरा ध्यान रक्सी नियन्त्रणमा केन्द्रित हुने पनि बताएका छ्न । मदिराकै कारण परिवार विखण्डनमा गएको र समाजमा विकृति तथा अपराधिक गतिविधि बढेको उनीहरूको भनाइ थियो । देशभरीका कतिपय गाउँलाई मदिरामुक्त घोषणा गरिए पनि मदिरापान बढिरहेको र यसबाट महिला हिंसाका घटना बढेको भन्दै महिला नेतृहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

गृहमन्त्रीलाई अखिल नेपाल महिला संघका पदाधिकारीहरु र केही सांसदहरू संलग्न रहेको टोलीले  भेटेर सिण्डिकेट तोडेजस्तै जँड्याहाहरुलाई पनि ठेगान लगाउनुपर्ने माग गरेको थियो ।  सिंगै नेपाललाई मदिरा मुक्त घोषणा गर्नु राम्रो हुने भन्दै तत्कालका लागि त्यसो गर्न नसकिए पनि सरकारले मदिरा नियन्त्रणमा जोड दिने मन्त्री थापाले बताए । यसक्रममा गृहमन्त्री बादलले अबका ६ महिनामा मदिरामुक्त नेपाल बनाइछाड्ने आश्वासन समेत दिएका छन् ।

यस कार्यका लागि गृह मन्त्रालयले विस्तृत खाका बनाइरहेको जानकारी दिँदै ६ महिने अभियान तत्कालबाटै सञ्चालन गर्ने पनि थापाले बताएका छन् ।

जँड्याहाहरुको भण्डाफोर र मदिरा नियन्त्रणको जागरण अभियान कार्यक्रम आयोजना गरिने, अनुमतिबिना र मापदण्डविपरीत सञ्चालनमा आएका मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरिने समेत गृहमन्त्री थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्