
काठमाडौँ, २० वैशाख
प्रदेश नम्बर–१ को भोजपुरमा वैशाख २४ गते सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग तथा नेपाली वाङ्मय परिषद्, काठमाडौँको सहयकार्यमा बृहत् विचार गोष्ठी तथा बहुभाषिक कविता उत्सव आयोजना हुने भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएको छ । नेपाली वाङ्मय परिषद्का अध्यक्ष प्राज्ञ शशी लुमुम्बूका अनुसार नारी साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, साहित्य, कला प्रतिष्ठान, भोजपुर एवम् रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौँको सहआयोजनामा कार्यक्रमा हुने भएको छ ।
उक्त कार्यक्रममा ‘बहुभाषिक कविता उत्सव’का साथै ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक बृहत् विचार गोष्ठी समेत हुनेछ ।
प्रदेश नं. १ का विभिन्न जिल्ला लगाएत काठमाडौंका केही कवि, लेखक तथा संस्कृतिकर्मीहरूको बाक्लो सहभागिता रहने छ । विभिन्न समुदायका सांस्कृतिक झाँकी, लोकनृत्य, लघुनाटक र प्रजातान्त्रिक योद्धा रामप्रसाद राईका बारेमा निर्मित बृत्तचित्रसमेत प्रदर्शन गरिने भएको छ ।
संयोजक लुमुम्बूको अनुसार भाषिक, साहित्यिक तथा सांस्कृतिक नीति निर्माणको तयारी प्रदेश सरकारले गरिरहेका बेला आयोजना हुन लागेको यस कार्यक्रमबाट निस्किने निष्कर्ष नै प्रदेश सरकारकालागि एउटा उपब्धिमूलक र मननीय हुने छ ।