महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान



पाल्पा, १६ वैशाख

उद्बुद्ध मावि पूर्वखोला गाउँपालिका–३ रिङ्नेरह पाल्पामा चलेको श्रीमद्भागवत ज्ञान महायज्ञमा रु साढे दुई करोड बराबरको दान संकलन भएको छ ।

उद्बुद्ध मावि तथा कलेजको शैक्षिक व्यवस्थापन तथा स्तरोन्नतिका लागि सञ्चालन भएको महायज्ञमा नगद तथा जिन्सी दान गरी सो रकम दान रकम संकलन भएको हो । गत वैशाख ९ गतेदेखि शुरु भएको महायज्ञ अवधिभर १८ पुराणका ज्ञाता बालब्यास पण्डित नारायण न्यौपानेले संगीतमय शैलीमा कथा वाचन गर्नुभएको थियो । महायज्ञ अवधिभर व्रतबन्ध, रुद्री, तुलादान, चौरासी पूजासमेत भएको उद्बुद्ध कलेजका प्रमुख सुशील आचार्यले बताउनुभयो ।

महायज्ञ समापनका अवसरमा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले यस महायज्ञले शैक्षिक विकासमा ठूलो टेवा पुग्ने बताउँदै विद्यालयको शैक्षिक, भौतिकलगायतका विभिन्न क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले गेझा वीरकोट पूर्वखोला हुँदै दुम्किबास जोड्ने सडक दुई लेनमा विकास गर्न प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । पाल्पा जिल्ला समन्वय समितिका सदस्य ईश्वरी न्यौपाने, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागरथी भट्टराई, समाजसेवी देवराज ढकाललगायतले यस महायज्ञबाट उठेको रकमले शैक्षिक क्षेत्रमा ठूलो सहयोग पुगेको बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्