
ललितपुर, वैशाख १६ ।
नेकपा एमाले केन्द्रीय कमिटिका उपाध्यक्ष तथा एमाले माओवादी एकताका शुत्रधार मानिने प्रभावशाली नेता बामदेव गौतमले एकीकृत कम्युनिष्ट पार्टीको केन्द्रमा दुई अध्यक्ष हुने पदाधिकारी नहुने र जिल्ला तहमा १ अध्यक्ष र १ सचिव हुने बताएका छन् । नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चद्वारा संयुक्त रुपमा गोदावरीमा आयोजित मैत्रीपूर्ण वनभोज कार्यक्रममा बताएका हुन् । एमाले अहिलेको अवस्थामा आउन ४५ औं पटक र माओवादी केन्द्र १६ औँ पटक एकीकरण भैसकेको बताउँदै आज अगाडिका कुनै एकता कहिल्यैं यति लामो नभएको बताए ।
हामीले एकता समितिको तर्फबाट सबैकुरा टुंग्याएर पूर्ण अधिकार २ अध्यक्षलाई दिँदा समेत एकता प्रक्रिया लम्बिएकोमा उनले आश्चर्य व्यक्त गरे । केन्द्रले एकता गर्न ढिलो गर्ने हो भने स्थानीय स्तरबाट पार्टी एकता गर्दै नेतृत्वलाई दवाब दिनुपर्नेमा उनको विशेष जोड थियो । विश्वकै अग्लो चुचुरो सगरमाथाको देशबाट ठूला कम्युनिष्ट पार्टीहरुको एकताले हुने समाजवादी समृद्धीको प्रभाव: भारत, बंगलादेश, पाकिस्तान, युरोप हुँदै अमेरिकासम्म फैलिने उनको दावी थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता अग्नि सापाकोटाले कुनै पनि बहानामा पार्टी एकताको लागि ढिलाई गर्न नहुने र तल्लो तहमा हुने आपसी मेलमिलापले सिंगो देशलाई एकतामा नल्याउने बताए । उनले थपे,’सिन्धुली मात्र होईन, अरु ७४ जिल्ला पनि एकै पटक एकतामा आउनुपर्छ’।
सिन्धुलीबाट निर्वाचितहरुको तर्फबाट बोल्दै सिन्धुली क्षेत्र नं. २ (क) का सांसद विनोद खड्काले पार्टी एकतामा भएको ढिलाईले जनतामा विश्वास घट्दै गएको बताए ।
कार्यक्रममा पूर्व सभासद निरु दर्लामी, एमाले सम्पर्क मंचका पूर्वअध्यक्षहरु हरिकृष्ण ठकुरी, डेकेन्द्र सुवेदी, तारानिधि पोखरेल, ईश्वर आचार्य त्यस्तै बाम नेताहरु हिरा लामा, भानुहरि भण्डारी, सरिता ढुंगेल, कमल दाहाल, राम थापा, अशोक कुमार ठकुरी, अशोक गिरी लगायतको उपस्थिति थियो ।
नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अमर थापामगरले कार्यक्रमको अध्यक्षता गर्दै भने, ‘विभिन्न बहानामा केन्द्रीय अध्यक्षहरुले एकता प्रक्रिया लम्ब्याउँदै जाने हो भने जिल्ला तहबाट हामी एकता प्रक्रिया शुरु गर्न बाध्य हुनेछौं ।’ कार्यक्रम संचालक नेकपा माओवादी केन्द्र सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चका अध्यक्ष रुद्र थिङले पनि एकता प्रक्रिया तत्काल नटुंग्याए स्थानीय स्तरबाट एकता घोषणा गर्न बाध्य हुने चेतावनी दिए ।
सिन्धुलीबाट काठमाडौं आई विभिन्न पेसा व्यवसाय गर्ने ३९६ जना बाम समर्थकहरु बनभोजमा सहभागी भएको एमाले सम्पर्क मञ्चका वेद रानामगरले जानकारी दिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।