शेयर बजार चार अर्बभन्दा बढीको कारोबार



काठमाडौँ, १५ वैशाख

धितोपत्र बजारमा यस साता रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको एक करोड एक लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा १४ दशमलव ८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको रु चार अर्ब आठ करोड ८७ लाख ५७ हजार  बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१ दशमलव २७ अंकले घटेर अन्तिम दिन १३५७ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव शुन्य पाँच अंकले  घटेर २८७ दशमलव शुन्य छ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड १५ लाख १० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको पाँच लाख २४ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  यस साता विभिन्न १८ कम्पनीको शेयर स्टकमा सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्