
काठमाडौं, १३ वैशाख
३३ किलो अवैध सुन र सनम शाक्य हत्यप्रकरणमा अनुसन्धान गर्न बनेको गृहमन्त्रालयको समिति समक्ष बयानका लागि उपस्थित भएका डिएसपी सञ्जय राउत फरार भएपछि नेपाल प्रहरीलाई टाउको दुखाइ भएको छ ।
राउत फरार भएपछि उनलाई खोज्न प्रहरी परिचालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरिएको स्रोतले जनाएको छ ।
समितिले बुधबार गृहमन्त्रालयमा राउतलाई बयानको लागि बोलाएको थियो । बयान दिँदै उनी एकाएक सम्पर्कबिहीन भएका थिए । डिएसपी राउत इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत थिए ।
३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकामा प्रहरीका दुई बहालवाला र एक पूर्वअधिकारीसमेत छन् ।
डिएसपी राउत गृहमन्त्रालयबाटै बयान दिँदा दिँदै फरार भएपछि गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनाल तनावमा परेको स्रोतको भनाइ छ ।