‘ह्याप्पी डेज’को रथ यात्रामा प्रियंका र सञ्जय



काठमाडौं, १० वैशाख

यही शुक्रबार, बैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी डेजले प्रचारका लागि रथ यात्रा गर्ने भएको छ । भोलि अर्थात् सोमबार राजधानीका विभिन्न ठाउँमा नायिका प्रियंका कार्की र नायक सञ्जय गुप्तालाई रथमा राखेर यात्रा गराउन लागिएको हो । नायक दयाहाङ राई भने उपस्थित हुने नहुने पक्का भैनसकेको निर्देशक मिलन चाम्सले बताए ।

सोमबार विहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ । त्यसपछी पुनः रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ । पछिल्लो समय नेपाली निर्माण पक्षले फिल्म प्रचारमा नयाँ नयाँ तरिका अपनाउने गरेका छन् । प्रचारका प्रयोग गर्न लागिएको ‘ह्याप्पी डेज’ को रथ यात्राले दर्शकलाई कत्तिको प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ । साढे २ करोडको बजेटमा निर्माण भएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्