
लक्ष्मण रामायणका एक आदर्श पात्र हुन्। शेषनागका अवतार लक्ष्मण अयोध्याका राजा दशरथका तेस्रा सन्तान हुन्।
१४ बर्ष वनवास सकिएर अयोध्या फर्किएपछि लक्ष्मण आफ्नो दाई रामको सेवामा दिन बिताईरहेका थिए। पछि सीतालाई रामले वनवास पठाउने निर्णय गरेपछि लक्ष्मणले धेरै विलौना गरेका थिए।
सीताले पनि आफ्ना देवर लक्ष्मणलाई आफ्ना सन्तान झैं माया गर्थिन्। लक्ष्मण राम-सीताका अत्यन्तै प्यारा थिए।
सीतालाई वनमा छोडेर आउन रामले लक्ष्मणलाई आदेश दिए। लक्ष्मणले दाईको आज्ञा मानेर भाउजु सीतालाई रथमा राखेर वनमा पुर्याए। तर,लक्ष्मणले वनमा एक्ली भाउजुलाई छोडेर अयोध्या फर्किन सकेनन्।
लक्ष्मण भाउजु सीताकै सेवामा वनमै बस्ने भनेर सीताको अगाडि धेरै विलौना गर्न थाले। लक्ष्मणले सीतासामु विलौना गर्दै भने-‘भाउजु मैले तपाईंलाई आफ्नो माता मानेको छु, मलाई पुत्र धर्म निभाउन दिनुस् ।’
लक्ष्मणले सार्है जिद्धी गर्न थालेपछि सीताले लक्ष्मणलाई भनिन्- ‘लक्ष्मण तिमि अयोध्याको राजकुमार होउ, तिमी यति कमजोर नबन र मेरो पछि नआउ र अयोध्या फर्केर जाउ।’
सीताको अन्तिम आदेशपछि लक्ष्मण भावविह्वल हुँदै सीताको पाउ छोएर अयोध्या फर्किए।