एक्सन किङ्ग शिव श्रेष्ठको फिल्ममा अग्रज तथा नयाँको भिड



काठमाडौं, ५ वैशाख

एक्सन किङ्ग शिव श्रेष्ठले निर्माण गर्ने फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा जम्बो कलाकार तथा प्राविधिकको टोली तय भएका छन् । दिपेस सापकोटाले निर्देशन गर्ने फिल्ममा अग्रज तथा नयाँ कलाकार र प्राविधिकको टोली रहनेछ । एउटा यस्तो प्रेम कहानी मार्फत अभिनेता श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पनि हिरोको रुपमा डेव्यु गर्दैछन् । उनी अष्ट्रेलिया बस्दै आइरहेका छन् ।

मल्टी स्टारर एवं बिग बजेटको फिल्म भनिएको फिल्ममा विदेशी कलाकारको समेत अभिनय रहने बताइएको छ । एक्सन किङ्ग शिव श्रेष्ठको कथा र प्रस्तुति रहेको उक्त फिल्मका लागि सिङ्गापुरका मार्शल आर्ट च्याम्पियन प्रभू श्रेष्ठलाई झिकाइएको छ । यस्तै हाल सन्नी देओलको फिल्ममा अभिनय गरिरहेको नवराज विकलाई समेत खलनायकका लागि झिकाइएको छ । फिल्ममा निर्माताको रुपमा दिनेश दर्शनधारी र यशोदा राई रहेका छन् ।

यसैगरी सह-निर्माताहरूमा सुनील कट्वाल, दिनेश थापामगर, खुम तामाङ, सुजन गौतम, रामनारायण शाह र निर्देशक तथा फोटोग्राफीमा सुशन प्रजापति रहेका छन् । फिल्मको छायाँकन काठमाडौं, मकवानपुर, जनकपुर, वीरगन्ज, संखुवासभा र विदेशमा समेत सुटिङ्ग गरिने बताइएको छ । ६ वटा गीत रहेको यस फिल्ममा अर्जुन पोखरेल, वसन्त सापकोटा र सन्तोष रजौरे लगायत तीनजना संगीतकारहरूले संगीत दिने भएका छन् ।

यस्तै फिल्ममा बसन्त श्रेष्ठ, कमल राई, गाविन्द राई र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । अहिलेका युवा तथा दक्षिण भारतमा समेत ख्याति कमाएका रोशन भट्टराई द्वन्द्व निर्देशक रहेका छन् । एउटा यस्तो प्रेम कहानी को गत साता उपराष्ट्रपति नन्दकिशोर पुनले मुर्हत गरेका थिए ।

फिल्ममा माला लिम्बुको समेत आइटम रहनेछ । मुख्य भूमिकामा प्रीयंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सञ्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला र बसुन्धरा भूसाल र शिवानी गिरि लगायत कलाकारहरू रहनेछन् । छायाँकन सकेर फिल्म भदौमा रिलिज गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्