२०७४ मा चर्चामा आउन सफल नेपाली चलचित्रका पाँच गीत



काठमाडौं, २ बैशाख

वर्ष ०७४ मा नेपाली चलचित्रले व्यावसायिक फड्को मार्न नसके पनि यसका गीतसङ्गीत भने बजार तताउन सफल देखिए । यो वर्ष बनेका चलचित्रमा थुप्रै राम्रा र चर्चा योग्य गतिसङ्गीत पनि आयो । केही गीतले चलचित्रको व्यवसायलाई टेवा पुर्यायो भने केही गीतले चलचित्रलाई चर्चामा मात्र दिलाउने काम गर्यो । केही गीत अरूका चोरिएका भित्रिए भने धेरै गीत चलचित्रभित्र मात्र सीमित भए ।

करिब ९० को हाराहारी सङ्ख्याका प्रदर्शनमा आएका चलचित्रलाई आधार बनाएर भन्ने हो भने केही चलचित्र छोडेर धेरै चलचित्रमा तीन वा चार देख्न सकिन्थ्यो । तर थोरै गीतले मात्र चर्चा र सफलता दुवै चुमे । वर्षभरी प्रदर्शनमा आएका चलचित्र मध्यबाट बजार तताउन सफल उत्कृष्ट ती पाँच गीत, जसलाई युट्युबमा सबैभन्दा बढी हेरियो ।

‘कुटुमा कुटु’

‘दुई रुपियाँ’ चलचित्रको यो गीत वर्षकै सबैभन्दा चर्चित गीत बन्न पुग्यो । युट्युबमा छोटो समयमै सर्वाधिक दर्शक पाउन सफल यो गीतले समाचार तयार गर्दासम्म ५ करोड ६० हजार दर्शक पाएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत रहेको गीतमा राजनराजसँगै राजन इशान र मेलिना राईको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीत माथि बनेको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ र आसिफ शाहको नृत्य देख्न सकिन्छ । यो गीत पिकनिक, पार्टी, महोत्सव, सभा समारोह प्रायः सबै स्थानमा गुन्जिन सफल भयो ।

‘ए दाजु नसमाउ नारीमा’

‘छक्का पञ्जा २ ’मा रहेको यो गीतले दुई कारणले चर्चा पायो । सुरुमा अल्मोडा राना उप्रेतीको सङ्गीत भनिएको उक्त गीत सार्वजनिक भएको केही दिनमा चोरिएको पुष्टि भयो । कान्छा मगर नेपालीको सङ्गीत रहेको उक्त गीतलाई उप्रेतीले तोडमोड गरेका थिए । कान्छा नेपालीको शब्द र भाकासँग ए दाजुको शब्द र भाका मिलेपछि अल्मोडाले गीत चोरेको पुष्टि भयो ।

पछि युट्युवमा सङ्गीतकारको नाम प्रिन्स नेपाली र कान्छा मगर राखियो । दीपकराज गिरीको शब्द भनिएको उक्त गीत चोरिएको पुष्टि भएपछि दीपकले धेरै आलोचना खेप्नुपर्यो । चोरीकै भए पनि गीत दर्शकले रुचाए । दीपाश्री निरौलाको निर्देशनमा बनेको यो गीतको भिडियोमा वर्षा राउत, केदार घिमिरे, जितु नेपाल, स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल देखिएका थिए । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतले अहिलेसम्म २ करोड २० लाख दर्शक पाएको छ ।

‘रूपै मोहनी’

वर्षको करिब अत्यतिर प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’को यो गीतले छोटो समयमै धेरै दर्शक पाउन सफल भयो । अहिलेसम्म १ करोड ५० लाख बढी पटक हेरिएको यो गीतमा लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको सङ्गीत छ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँगै दीपाश्री निरौला, दीपकराज गिरी, प्रियङ्का कार्की, शिवहरी पौडेल, पल शाह र आँचल शर्माले कम्मर मर्काएको गीत लोक गायक कुमार बस्नेतको ‘रक्सी खान जाउ’सँग चोरिएको समेत चर्चा चलेको थियो तर त्यो चर्चा त्यतिकै सेलायो ।

‘भन्छु आज’
‘म यस्तो गीत गाउँछु’ चलचित्रभित्र रहेको यो गीत केही महिना पहिले निकै चर्चा थियो । तर अहिले छैन । सुदर्शन थापाको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा कलाकार पूजा शर्मा र पल शाहले अभिनय गरेका थिए ।

गीतले १ करोड ४० लाख बढी दर्शक पाएको छ । सुगम पोखरेल र अन्जु पन्तले गाएको यस गीतमा पनि कविराज गहतराजकै कोरियोग्राफी थियो । चलचित्र भने सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

तिमी रोएको पल

अभिनेता रमेश उप्रेतीको कमब्याक चलचित्र ‘ऐश्वर्य’मा समावेश यो दोस्रो रोमान्टिक गीत हो । अर्जुन पोखरेलको शब्द ,संगीतमा तयार भएको यस गीतले १ करोड ६० लाख बढी दर्शक पाएको छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तले नै स्वर दिएका छन् । रमेश उप्रेतीसँगै नव अभिनेत्री दीपिका प्रशाईले अभिनय गरेको गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको नृत्य निर्देशन रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्